टेन्डरमा कर्मचारी, तलब १ रुपैयाँ

सुनसरी, १३ मंसिर । लाखौँ रुपैयाँ खर्चिएर इन्जिनियरिङ पढेका व्यक्तिले कति तलबको आशा गर्लान् ? २५ हजार या ३० हजार † तर, आश्चर्य लाग्न सक्छ– मोरङको सुन्दर—दुलारी नगरपालिका कार्यालयमा कार्यरत सबइन्जिनियर अम्बिका गुरागाईंले यतिवेला मासिक एक रुपैयाँ पाउने भएका छन् ।

उनले नै नगरपालिकासँग मासिक एक रुपैयाँ लिने प्रस्ताव गरेको नगरपालिकाका कार्यकारी अधिकृत सुवर्ण घिमिरेले बताए । सो नगरपालिकाले प्राविधिक कर्मचारीका लागि आह्वान गरेको आवेदनमा न्यूनतम तलब कबोल गरी गुरागाईं जागिरे भएका हुन् । न्यूनतम तलब कबोल गर्नेमध्येबाट पदपूर्ति गर्दा उनी छनोटमा परेको घिमिरेको भनाइ छ ।

कार्यकारी अधिकृत घिमिरेले भने, ‘कर्मचारीका लागि मागिएको आवेदनमा एक रुपैयाँको प्रस्ताव आउला भनेर मैले सोचेको थिइनँ  । अन्य १६ आवेदनमा यति कम रुपैयाँ माग गरेको पाइएन ।’ उनका अनुसार जम्मा १७ जनाको आवेदन परेको थियो । अन्य आवेदकले न्यूनतम तीन हजारदेखि १४ हजार रुपैयाँसम्म माग गरेका थिए ।

एक रुपैयाँ तलबमा जागिर खाने अवसर पाएका गुरागाईंले भने सेवाका लागि जागिर खाएको बताए । यसअघि दुलारी गाविस हुँदासमेत उनले नि:शुल्क सेवा दिँदै आएका थिए । सुषमा इन्जिनियरिङ कलेज इटहरीमा अध्ययन गरेका २८ वर्षीय गुरागाईंले सरकारी जागिर खाने इच्छाका कारण आफूले एक रुपैयाँमा जागिर खाएको बताए ।

नि:शुल्क जागिर खान्छु भन्दा आवेदन स्वीकृत नहुने हुँदा न्यूनतम मासिक एक रुपैयाँ तलब प्रस्ताव गरेको उनको भनाइ छ । तर, सरकारी स्केल र श्रमको न्यूनतम पारिश्रमिकभन्दा कममा नगरपालिकाले जागिर दिएको भन्दै श्रम शोषणको कुरा उठ्न थालेको नगरपालिकाका कार्यकारी अधिकृत घिमिरेले बताएका छन् । अब परिषद् बैठक बसी गुरागार्इंको तलबका विषयमा अर्को व्यवस्था गर्ने उनले बताए ।

नगरपालिकाले एक इन्जिनियर, दुई सबइन्जिनियर र एक अमिनका लागि खुलाएको टेन्डरमा अन्य कर्मचारी पनि निकै कम रकम कबोल गरी जागिरका लागि छनोट भएका छन् । नगरपालिकाका अनुसार अर्का सबइन्जिनियर ईश्वर कार्की मासिक तीन हजार, इन्जिनियर कुमार तिम्सिना मासिक तीन हजार पाँच सय र अमिन दिपेशमणि प्याकुरेल मासिक तीन हजार रुपैयाँ पाउने गरी छनोट भएका छन् । सबै नयाँ कर्मचारीको तीन महिना करारको श्रम सम्झौता भएको छ ।

,