संविधानसभाबाटै बन्यो संविधान

काठमाडौं, ३१ भदौ । नेपालको इतिहासमा पहिलोपटक संविधानसभाबाट नयाँ संविधान बनेको छ । संविधानसभाको बुधबारको बैठकले दुईतिहाइ मतका आधारमा नेपालको संविधानको विधेयक, २०७२ पारित गरेको हो।

सभामुख सुवास नेम्वाङले बुधबार राति ८ बजेर ५८ मिनेटमा नेपालको संविधानको विधेयक, २०७२ पारित भएको घोषणा गरेका थिए । संविधानको विधेयकमाथि मतदान प्रक्रिया ८:१३ बजे सुरु भएको थियो । २४ मिनेटपछि ८:३७ बजे सकिएको मतदान २१ मिनेट लगाएर गणना गरिएको थियो । सभामुखले विधेयक पारितको घोषणा गरेपछि सभासद्हरूले झन्डै आधा मिनेट ताली बजाएर र टेबुल ठोकेर स्वागत गरेका थिए । यो घोषणासँगै संविधानसभाबाट संविधान बनाउने ००७ देखि उठेको विषयले करिब सात दशकपछि मूर्त रूप लिएको छ ।

संविधानको विधेयक लिखित मतदान प्रक्रियाबाट बहुमतका आधारमा पारित गरिएको हो । संविधानसभामा कुल पाँच सय ९८ सभासद् रहेकामा बुधबारको बैठकमा पाँच सय ३२ सभासद् उपस्थित थिए । तीमध्ये पाँच सय सात सभासद्ले विधेयकको पक्षमा मतदान गरे । पक्षमा मतदान गर्नेमा ठूला कांग्रेस, एमाले, एमाओवादीलगायत साना दल छन् ।

राप्रपा नेपालका २५ सभासद्ले भने विधेयकको विपक्षमा मतदान गरे । राजतन्त्रात्मक शासन व्यवस्था, हिन्दूराज्य, एकात्मक शासन प्रणाली हुनुपर्ने माग गरेको राप्रपा नेपालले संविधानको आधारभूत विषयमा नै असहमति जनाउँदै विपक्षमा मतदान गरेको हो । पाँच सय ९८ सभासद्मध्ये सभामुख सुवास नेम्वाङले मतदान गरेनन् । मतदानका क्रममा दुई पक्षको बराबर मत भए मात्रै सभामुखले मतदान गर्न पाउने व्यवस्था छ । एमाओवादी सभासद् प्रभु साह भने लिखत पत्र बुझाएर प्रक्रियाबाट बाहिरिएका छन् ।
 
आन्दोलनरत समाजवादी फोरमका १४, तमलोपाका ११, फोरम लोकतान्त्रिकका १०, सद्भावना पार्टीका ६, तराई मधेस सद्भावना पार्टीका तीन, राष्ट्रिय मधेस समाजवादी पार्टीका तीन, फोरम गणतान्त्रिकका एक, थरुहट तराई पार्टी नेपालका दुई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक, संघीय सद्भावनाका एक, स्वतन्त्र सभासद् चन्द्रेश्वर झा मतदानमा सहभागी भएनन् । क्यान्सरका कारण अस्पतालमा उपचाररत मधेस समता पार्टीका सभासद् मेघराज नेपाली निसाद पनि मतदानमा उपस्थित भएनन् ।

संविधानको विधेयकमा परेका संशोधन प्रस्तावहरू र समग्र विधेयकलाई चार दिन लगाएर मतदान प्रक्रिया सम्पन्न गरिएको हो । धारा र संशोधनहरू ध्वनिमतका आधारमा निर्णयार्थ पेस गरिए पनि संविधानको विधेयक लिखित मतका आधारमा पारित गरिएको थियो । नेपालको इतिहासमा पहिलोपटक सार्वभौमसत्ता तथा राजकीयसत्ता जनतामा निहित भएको संविधान जनताद्वारा निर्वाचित संविधानसभाले बनाएको हो । नयाँ संविधानले लामो इतिहास बोकेको राजतन्त्र अन्त्यका लागि भएका आन्दोलनले राखेको उद्देश्य र उपलब्धिहरू संस्थागत गरेको छ ।

६ धारा थपिए
नयाँ संविधानमा ३७ भाग, ३०८ धारा र ९ अनुसूची छन् । यसअघि विधेयकमा ३०२ धारा मात्रै थिए । पछिल्लो राजनीतिक सहमतिका आधारमा प्रमुख तीन दलका तर्फबाट आएको संशोधनलाई संविधानसभाको बहुमतले पारित गरेपछि ६ वटा धारा थपिएका हुन् । देशको राजधानी काठमाडौं हुने, मधेसी, थारू, जनजाति र मुस्लिम आयोग बनाउने र ती आयोगको १० वर्षमा पुन: मूल्यांकन गर्ने गरी ६ वटा धारा संशोधनपछि थपिएका हुन् ।

आठ वर्षको प्रयासमा संविधान
२८ चैत ०६५ मा भएको निर्वाचनले गठन गरेको पहिलो संविधानसभा निर्धारित दुई वर्ष र थपिएको अर्को दुई वर्ष तथा सर्वोच्च अदालतले तोकिदिएको अन्तिम ६ महिनामा पनि संविधान बनाउन असफल भयो । ४ मंसिर ०७० मा संविधानसभाको दोस्रो चुनाव भयो । ८ माघमा पहिलो बैठक बस्यो । त्यसयता बसेका एक सय ३३औँ बैठकले नयाँ संविधान पारित गरेको हो । ३ असोज साँझ ५ बजे बस्ने संविधानसभाको अन्तिम बैठकले नयाँ संविधान प्रमाणीकरण गर्नेछ र त्यहीँ आयोजित विशेष औपचारिक समारोहमा राष्ट्रपतिले सार्वजनिक गर्नेछन् ।

संविधानमा सभासद्हरूको हस्ताक्षर १ असोजमा
तयार भएको संविधानमा संविधानसभाका सबै सभासद्ले १ असोजमा संविधानसभा भवनकै ल्होत्से हलमा हस्ताक्षर गर्ने भएका छन् । त्यसपछि सभामुखले संविधान प्रमाणित गरी हस्ताक्षर गर्नेछन् । यसरी तयार भएको नयाँ संविधान ३ असोज साँझ ५ बजे बस्ने संविधानसभाको अन्तिम बैठकलाई विशेष राष्ट्रिय समारोहका रूपमा आयोजना गरेर राष्ट्रपति डा. रामवरण यादवले हस्ताक्षर गरेर सार्वजनिक गर्नेछन् । नयाँ संविधान जारी भएसँगै लागू हुनेछ र अन्तरिम संविधान स्वत: निष्क्रिय हुनेछ ।
संविधानसभाको बुधबारको बैठकमा संविधानको विधेयक निर्णयार्थ प्रस्तुत गर्ने क्रममा मस्यौदा समितिका सभापति कृष्ण सिटौलाले नेपाली जनताका लागि यो खुसी, गौरव र उत्साहको क्षण भएको बताएका थिए । संविधानसभाले सबै नेपाली अटाउने संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था भएको संविधान बनाएको उनले बताए ।

साढे १५ घन्टामा पारित भयो संविधानको विधेयक
नयाा संविधानको विधेयक पारित गर्न संविधानसभालाई साढे १५ घन्टा लाग्यो । २७ भदौमा आधा घन्टा खर्च गरेर परिमार्जित विधेयकका तीनवटा धारा पारित गर्‍यो । २८ भदौमा पााच घन्टा लगाएर ५४ धारा, २९ भदौमा चार चरणमा साढे चार घन्टा बैठक बस्यो र ११९ धारा पारित गर्‍यो । ३० भदौमा साढे पााच घन्टा लगाएर १२६ धारा पारित गरिए । चौथो चरणको बैठकमा राति ८:५८ मा ३०२ धारा रहेको नयाा संविधानको विधेयक दुईतिहाइ बहुमतबाट पारित भयो ।

संविधानको विपक्षमा राप्रपा नेपाल मात्रै
संविधान पारित गर्दा बैठकमा उपस्थित दलहरूमध्ये राप्रपा नेपाल मात्रै विपक्षमा उभियो । जम्मा ५९८ सदस्यमध्ये ५३२ बैठकमा उपस्थित थिए । उनीहरूमध्ये ५०७ ले पक्षमा र राप्रपा नेपालका २५ सभासद्ले विपक्षमा मतदान गरे । एक स्वतन्त्रसहित ११ दलका ५८ सभासद् र एमाओवादीका प्रभु साहले संविधानसभाको प्रक्रिया बहिष्कार गरे । ६ सभासद् अनुपस्थित रहे ।

क्रमसंख्या र त्रुटि मिलाउन समिति गठन
पारित संविधानको विधेयकका धाराहरूमा क्रमसंख्या र अन्य सामान्य त्रुटि भएका विषयहरू सुधार गर्न संवाद समितिका सभापति डा. बाबुराम भट्टराईको संयोजकत्वमा कांग्रेसका कृष्ण सिटौला, एमालेका अग्नि खरेल, एमाओवादीका गिरिराजमणि पोखरेल र राप्रपा नेपालकी कुन्ती शाही सदस्य रहेको समिति गठन गरिएको छ । यो समितिले बिहीबार ३ बजेसम्म सुधार गर्नुपर्ने कुराको सूची बनाएर सभामुखसमक्ष पेस गर्नेछ ।

,