कम्पनीले मेरो कामदार होइन भनेपछि ,नेपाली श्रमिकको बिचल्ली

 भूमीराज पराजुली-
४ जेठ,मलेशिया – मलेशियामा यस्ता कम्पनीहरु पनि छन् जसले आफ्नै कम्पनीमा काम गर्ने कामदारलाई पनि मेरो कामदार होइन भन्छन् । मलेशियाको काजाङमा रहेको एउटा कम्पनीमा यस्तै भएको छ । नेपालबाट म्यानपावरले पठाएकै कम्पनीमा पुगेपनि केही नेपालीहरुले यस्तो समस्या भोग्नु परेको हो । जब कम्पनीले पीडितलाई राहत र बिमा रकम दिनु पर्ने अवस्था आयो त्यसपछि कम्पनीले भन्यो ‘यो मेरो कम्पनीको कामदार होइन ।’

नवलपरासीका लीलामणी महतो काठमाडौंको बसुन्धारमा रहेका गुडविल म्यानपावरलाई ९३ हजार रुपैयाँ तिरेर मलेशियाको काजाङमा रहेको सेन्थेटिक ओरियन्टल कम्पनीमा पुग्नुभयो । काम राम्रै भइरहेको थियो । कामको सिलसिलामा एकदिन मेसिनले उहाँको दाइने हातको नाडी काट्यो ।

‘मेसिन चलाइ सकेर सफा गर्दै थिएँ, त्यत्खिेरै बोसहरु आइपुगे’ उहाँले भन्नुभयो, ‘बोसले एकछिन मलाइ मद्दत गर्न आउ भनेर बोलाए, मैले उनको कुरा नकाटी गएँ ।’ बोसको काम सकेर फेरी मेसिन सफा गर्न थाल्दा मेसिन भित्रको जालीले उहाँको हात काट्यो । त्यसपछि उहाँ बेहोस हुनुभयो । होस आउँदा उहाँ नजिकैको काजाङ अस्पतालको बेडमा हुनुहन्थ्यो ।

तर उहाँको ब्यथा कम्पनीले बुझेन । दुर्घटनामा परेपछि उहाँलाई काजाङ अस्पतालले ३ महिनासम्मको लागि काम गर्ने नसक्ने पुर्जी बनाइदियो । लीलामणी महतो मलेशियाको नियम अनुसार चिकित्सकले बिरामी भनेर हस्ताक्षरसहित पत्र बनाइदिएपछि सम्बन्धित बिरामीले उक्त दिन बराबरको तलब पाउने व्यबस्था छ । तर यो व्यवस्था लीलामणी महतोमा भने लागु भएन ।

त्यसपछि उहाँलाई कम्पनीले एक महिनाको तलब र हवाइ टिकट काटिदिन्छु घर जा भन्न थाल्यो । हरेक वर्ष १ सय २० रिङ्गेट बिमा रकम काटिने गरेकाले उहाँले कम्पनीको उक्त प्रस्ताव मान्नु भएन बरु बिमा रकम माग गर्नुभयो । तर उहाँको यो मागलाई कम्पनीले बेवास्ता गरीदियो । कम्पनीले भिसा बाँकी भए पनि कामबाट निकालिदिएको छ ।

त्यसपछि उहाँ कानुनी लडाईंका लागि युनियनको शरणमा पुग्नुभयो । अहिले नेपाल ट्रेड युनियन महासंघ जिफण्ट सर्पोट ग्रुप मलेशियाले उहाँको समस्यामा साथ दिएको छ ।

अहिले उहाँ दुतावासमार्फत केलाङ चौतारी नेपालको कोठामा बस्दै आउनु भएको छ । उहाँको मुद्दा लड्ने क्रममा मलेशियाली ट्रेड युनियन कंग्रेस एमटियुसीलाई पनि सेन्थेटिक ओरियन्टल कम्पनीले लीलामणि महतो आफ्नो कामदार नरहेको बताएको छ ।

महतो उक्त कम्पनीका आधिकारिक कामदार भएको प्रमाण उहाँसँगको भिसा र नेपालबाट आएको सम्झौतामा नै प्रष्ट छ । दुर्घटनामा परेर क्षति भए, १० हजारदेखि १ लाख २० हजार रिङ्गेटसम्म पाउने व्यवस्था भएपनि उहाँले अहिलेसम्म पाउनुभएको छैन ।