यस वर्षको एसएलसी चैत ५ देखि (तालिकासहित)

जनकपुर, ४ मंसिर । माध्यामिक उत्तीर्ण परीक्षा समितिको बिहीबार बसेको बैठकले २०७१ सालको एसएलसी परीक्षा चैत ५ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ। समितिका अध्यक्ष शिक्षा सचिव विश्वप्रकाश पण्डितको अध्यक्षतामा बसेको बैठकले यस वर्षको साधारण शिक्षातर्फको एसएलसी परीक्षा चैत ५ देखि १३ गतेसम्म सञ्चालन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।

परीक्षा नियन्त्रक विष्णुबहादुर द्धारेका अनुसार यस वर्ष पहिलो पटक प्राविधिक धारका विद्यार्थीले पनि एसएलसी परीक्षामा सहभागिता जनाउनेछन्। साधारणतर्फको एसएलसी परीक्षा चैत १३ गते सकिन्छ। प्राविधिक धारको परीक्षा भने चैत १६ गते सकिन्छ। 

यस वर्षको एसएलसी परीक्षामा विद्यार्थीहरुले प्रयोगात्मक विषय अनिवार्य अंग्रेजी र कमप्युटर शिक्षाको परीक्षा समबन्धित विद्यालय ब्यवस्थापन समिति र विषयगत शिक्षकले नै प्रश्नपत्र तयार गरी विद्यालयमै परीक्षा सञ्चालन गर्ने निर्देशन परीक्षा नियन्त्रण कार्यालयले सबै विद्यालयहरुलाई दिएको नियन्त्रक द्धारेले बताए। 

करिब ४५ सय विद्यार्थी सहभागी रहेको प्राविधिकतर्फको परीक्षा सदरमुकाममै सञ्चालन गरिने पनिकाले जनाएको छ। साधारण शिक्षातर्फ ६ अनिवार्य विषय हुन्छ भने प्राविधिकतर्फ ४ वटा अनिवार्य विषयमात्र हुने तर अन्य थप विषयहरु बढी भएकाले ढिलो सकिने उनको भनाइ छ। 

'यस वर्ष परीक्षालाई ब्यवस्थित र मर्यादित बनाउने पनिकाले केन्द्राअध्यक्ष, सुरक्षाकर्मी र अन्य कर्मचारीहरुको भत्तासमेत बढाएको छ,' नियन्त्रक द्धारेले नागरिकन्युजसँग भने, 'प्रयोगात्मक विषयको परीक्षालाई बढी मर्यादित बनाउन यसवर्ष पनिकाले स्कुललाई नै जिम्मा दिएको छ।'

उनका अनुसार यसवर्ष प्राविधक धारतर्फका ९९ विद्यालयका करिब ४५ सय विद्यार्थीको नतिजा भने ग्रेडिङ प्रणालीमा प्रकासित गरिनेछ। यो वर्ष परीक्षणका लागि प्राविधिक धारतर्फ मात्र लागू हुन्छ। पछि क्रमशः साधारण धारतर्फ पनि बढ्ने पनिकाको लक्ष्य छ। 

साधारण शिक्षातर्फको तलिका 
चैत ५ गते अनिवार्य अंग्रेजी 
चैत ६ गते अनिवार्य नेपाली 
चैत ८ गते अनिवार्य गणित
चैत ९ गते अनिवार्य विज्ञान
चैत १० गते अनिवार्य समाजिक शिक्षा
चैत ११ गते अनिवर्या स्वास्थ्य जनसंख्या तथा बातावरण 
चैत १२ गते ऐच्छिक प्रथम पत्र 
चैत १३ गते ऐच्छिक द्वितीय पत्र