फास्ट ट्रयाकबाटै माघ ८ मा संविधान : ओली
काठमाडौं, १२ मंसिर । एमाले अध्यक्ष केपी शर्मा ओलीले फास्टट्र्याकवाट भए पनि ८ माघमै संविधान जारी गर्ने वताएका छन् ।
संविधान निर्माणवारे ध्यानाकर्षण गर्न शुक्रवार ओली निवास वालकोट पुगेको नेपाल पत्रकार महासंघको टोलीसँग कुरा गर्दै ओलीले संविधान निर्माणको उद्धेश्यका अगाडी कार्यतालिका गौण रहेको पनि वताए । ‘मुख्य कुरा संविधान निर्माण हो, कार्यतालिका त्यसको सहयोगी मात्रै हो’ ओलीले भने, ‘कार्यतालिका अनुरुप माघ ८ मा संविधान आउँदैन भन्ने सुन्न थालिएको छ तर, फास्ट ट्रय्याकवाट भए पनि माघ ८ मै संविधान आउँछ ।’ आफुहरु सहमतिमै संविधान निर्माणको पक्षमा रहेको वताउँदै उनले दलहरुवीच मुख्य विवादित राज्य पुनर्संरचनाको विषयस्वतन्त्र आयोग गठन गरेर हल गर्न सकिने पनि वताए ।
‘राज्य पुनर्संरचना, शासकीय स्वरुप, न्याय प्रणाली र निर्वाचन प्रणाली मध्ये मुख्य विवाद राज्य पुनर्संरचनामा हो’ ओलीले भने, ‘हामी दलहरुवीच घनिभुत छलफल चलाउँदैछौं स्वतन्त्र आयोग बनाएर त्यसले दिने प्रतिवेदनलाई स्वीकार गर्नेगरी यसलाई किानारा लगाउने हाम्रो प्रस्ताव छ ।’ माघ ८ मा संविधान जारी गरिएपछि हुने भागबण्डामा नेताहरुको ध्यान केन्द्रित भएर संविधानमा विवाद भएको भन्ने विषयमा राखिएको जिज्ञासामा ओलीले अहिलेसम्म दलका नेताहरुले यस्तो कुरा नगरेको दावी गरे । ‘मसँग कुरा हुँदा कसको के ईच्छा भन्ने कुरा कसैले गरेको छैन’ ओलीले भने, ‘मनमा कसैको केही कुरा थियो कि थाहा पाउन म एक्सरे मेशिन होइन ।’
संविधान जारी भएपछि सुशील कोइराला राष्ट्रपति र आफु प्रधानमन्त्री बन्ने दुई नेतावीच ‘जेन्टलमेन्ट एग्रीमेन्ट’ भएको हो कि होइन भन्ने विषयमा राखिएको जिज्ञासामा ओलीले आफु ब्यक्तिगत ईच्छावाट परिचालित नभएको जवाफ दिए । ‘संविधान जारी भएपछि कुन कन पद खाली हुन्छन्, म त्याहाँ पुग्छु कि पुग्दिन भन्ने अहिलेको प्रश्न होइन’ ओलीले भने, ‘प्रधानमन्त्री बन्ने मेरो ब्यक्तिगत रुचीको कुरा हुन सक्छ तर, संविधान आम जनताको रुचीको विषय हो, म मेरो रुचीमा होइन आम जनताको रुचीमा अहिले ध्यान केन्द्रित गर्छु ।’


