तीन ठूला राजमार्ग चार लेनका बन्दै
काठमाडौं, ३० भदौ । सवारी चाप बढी हुने मुलुकका तीनवटा ठूला राजमार्गलाई सरकारले चार लेनमा स्तरवृद्धि गर्ने भएको छ । सडक विभागमार्फत काँकडभिट्टा–बुटवल, नारायणघाट–काठमाडौं र मुग्लिन–पोखरा सडकखण्डलाई चार लेनमा स्तरोन्नति गर्ने योजना बनाएको छ ।
विश्व बैंक, एसियाली विकास बैंक र मिलिनियम च्यालेन्ज को–अपरेसन (एमसिसी) गरी तीनवटा दाता संस्थाबाट लगानीको आश्वासन पाएपछि सरकारले सडक विभागमार्फत यी सडकको स्तरोन्नति गर्ने योजना बनाएको विभागका महानिर्देशक माधव कार्कीले जानकारी दिए । यी संस्था सडक आयोजनामा लगानीका लागि सकारात्मक देखिएकाले योजना कार्यान्वयन हुने कार्कीको भनाइ छ ।
नेपालको सर्वाधिक ट्राफिक चाप हुने सडकखण्ड छनोट गरी पहिलो चरणमा विस्तारको योजना बनाइएको हो । एक वर्षभित्र सम्भाव्यता अध्ययन पूरा गर्ने र त्यसपछि निर्माणको चरणमा जाने योजनासहित प्रक्रिया अगाडि बढाइएको कार्कीले जानकारी दिए । सरकारको बजेटले ठूलो आयोजना कार्यान्वयन सम्भव नहुने भएकाले दाता संस्थाबाट सहयोग आवश्यक रहेको महानिर्देशक कार्कीले बताए ।
विभागको योजनाअनुसार महेन्द्र राजमार्गअन्तर्गत काँकडभिट्टादेखि बुटवलसम्म ६ सय किलोमिटर, पोखरा–मुग्लिन ९० किलोमिटर र नारायणघाटदेखि काठमाडौंसम्मको १ सय १० किलोमिटर सडक चार लेनका रूपमा विकसित हुनेछन् । यी सडकको क्षमता वृद्धिका लागि विभिन्न खण्डमा विश्व बैंकमार्फत सम्भाव्यता अध्ययन प्रारम्भ भएको कार्कीले जानकारी दिए । ‘मुग्लिन–काठमाडांै सडकखण्डको विद्यमान सडकलाई बढाउन सक्ने सम्भावना देखिएको छैन,’ उनले भने, ‘सो खण्डमा त्रिशूलीपारि नयाँ सडक बनाउनेबारे सम्भाव्यता अध्ययन गरिनेछ ।’
यी सडकखण्डमा दुई लेन सडक थप गर्न प्रतिकिलोमिटर १५ देखि २० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । सडक विस्तारका क्रममा सडकखण्डमा पर्ने पुल तथा कलभर्डहरूसमेत विस्तार हुनेछन् । योजनाबमोजिम काँकडभिट्टा–पथलैया, बुटवल नारायणघाट र मुग्लिन–पोखरा प्रथम चरणमा निर्माण हुनेछन् । सम्भावना रहेको स्थानमा ६ लेनसम्म पनि विस्तार हुने र विभिन्न स्थानमा ‘अन्टरपास’, ‘ओभरपास’को निर्माण गरी आधुनिक प्रविधिमार्फत सडक विस्तार हुने कार्कीले जानकारी दिए । सडक विस्तारसँगै बढ्दो ट्राफिक व्यवस्थित गर्न सहयोग पुग्ने र दुर्घटना कम हुने अपेक्षा गरिएको छ ।