ब्रत बस्ने फुर्सद् नै मिल्दैन : रमिला


यसपाली तिजमा त चिट्टिकै पर्नु छ
दस हजार देउ सानु म सपिङ गर्नु छ
कहिले दिन आउला र रुख रोपेर पैसा फलाउने
आफु त अलि खर्चलु मान्छे मेरो त मायाले काठमाडौंमा ट्याक्सी चलाउने

'मेरो त मायाले काठमाडौंमा ट्याक्सी चलाउने' शीर्षकको यो गीतमा स्वर भरेकी छिन् लोकदोहोरी गायिका रमिला न्यौपानेले । खुमन अधिकारीसँगको यो दोहोरी गीतले उनी यसपटकको तिजमा पनि श्रोतादर्शकको मनमा बस्न सफल भइन् । आज त भेट्न आउदिन है कालु, अर्शीवाद माग्छु, बर्बादै भयो, झमझम दर्कियो पानी, घाम लाग्यो शीतलु भयो जस्ता गीतबाट चर्चामा आएकी उनी सिन्धुपाल्चोक बाँडेगाउँकी हुन् ।

आठ वर्षयता लोकदोहोरी क्षेत्रमा चम्किन थालेकी उनले ५० भन्दा बढी दोहोरी गीतमा स्वर भरिसकेकी छिन् । पूर्वेली समाजमा जन्मेहुर्केकी रमिला पश्चिमेली दोहोरी गीतमा चम्किन पाउँदा खुसी पनि छिन् । अथक प्रयास र संघर्षले आफु अहिलेको स्थानमा उक्लिन सकेको उनले सुनाइन् । उनै गायिका रमिला न्यौपानेसँगको कुराकानी :

काठमाडौंमा ट्याक्सी चलाउने कस्तो खालको गीत हो ?
यो अहिलेको समय, चलन र थिम प्रयोग गरेर बाबुराम बोहराले लेख्नुभएको गीत हो । खुमन अधिकारी र मैले स्वर मात्र भरेको ।

यसरी गीतमै दस हजार डिमान्ड गरेपछि श्रीमानहरुलाई त गाह्रो हुन्छ होला नि ?
अहिलेको समयमा दसहजारको के आउँछ र ? खास डिमान्ड त धेरै गर्नुपर्ने हो । तर, दुःख गर्ने श्रीमानहरुको अवस्था हेरेर पैसा मागौ भन्ने हिसाबले दस हजार डिमान्ड गरिएको छ ।

तिज गीतहरुमा एकदमै छाउनुभएको छ, कस्तो लाग्छ तपाईंलाई ?
लोकदोहोरीमा अरु गीत पनि गाएकी छु । तर, मलाई तिज गीतले नै चिनायो । 'आज त भेट्न आउदिन है कालु' बोलको गीत चर्चामा आयो । खुसी लाग्छ यसरी चर्चामा बसिरहन मन लाग्छ ।

तिजमा भड्किलो गीतहरु आउन थाले भन्छन् नि तपाई के भन्नुहुन्छ ?

राम्रा चीजसँगै नराम्रा चीजहरु पनि आउँछन् । गायकगायिकाले म को हुँ, मैले समाजलाई के दिनुपर्छ भन्ने सोच्नुपर्छ । आफुले दिने संगीत दिगो हुनुपर्छ ।

तिज कसरी मनाउँदै हुनुहुन्छ ?

तिजको पूर्वसन्ध्यामा भारत गएकी थिएँ । त्यसपछि नेपालमै विभिन्न जिल्लाहरुको कार्यक्रममा पुगिसकें । पुग्ने क्रम जारी छ । तिजकै दिनमा चाँहि पोखरा हुन्छु । परम्परादेखि चलिआएको नियम मान्ने हो भने व्रत बसेर, दर खाएर शिवजीको मन्दिरमा गएर पूजा गर्नुपर्ने हो । तर, कार्यक्रममा गइरहनु पर्ने भएकोले व्रत बस्ने फूसद् नै मिल्दैन । त्यसैले दर मात्र खाएर भएपनि तिज मनाइन्छ ।

तिजमा व्यस्त हुनुहुन्छ, अरु बेला पनि यस्तै दौडधुप हुन्छ ?
मेरा तिज गीतबाहेक अरु गीत पनि छन् । ती गीतहरु प्रस्तुतिकै लागि देशविदेशमा पुगिरहनुपर्छ । त्यसैले अहिलेसम्म अरु बेला पनि व्यस्त नै छु । जापान, दुबइ, रसिया, कतार, बहराइन, मलेसिया, सिंगापुर, थाइल्यान्ड पुगिसकें । नेपालका अधिकांश सहरहरुमा पनि पुगिसकें । आफ्नो पेसा नै यही भएकोले व्यस्त नै छु ।

लोकदोहोरी यात्रा कहिलेबाट थाल्नुभयो ?
८–९ वर्ष भइसक्यो । बाहुनको परिवारमा जन्मेकी हुनाले यो क्षेत्रमा आउन निकै गाह्रो पनि भयो । पाँच वर्षअघि एल्बम निकालें । दुःख गरी यो क्षेत्रमा लागेकोले होला पहिलो एल्बम नै राम्रो भयो । र, अहिलेसम्म यही क्षेत्रमा टिक्न सकेकी छु ।

के अप्ठेरो थियो तपाईंलाई ?
सानैदेखि लोकदोहोरीमा रुचि थियो । तर, हाम्रो तिर यस्तो लोकदोहोरी कठिन विधामा पथ्र्यो । काँठे गीतहरुमात्र गाइन्थ्यो । लोक दोहोरीमा रुचि भएकोले यस क्षेत्रमा लाग्न संघर्ष गर्नुप¥यो । सिक्नुप¥यो । दोहोरीमा काम गर्नुप¥यो । यो हाम्रो परिवारका सदस्यका लागि छुट थिएन । थाह नदिइनदिइ काम गरियो । गीत रेकर्ड गरियो । गीत रेकर्ड गरेर गाउँ जाँदा अरुले थाह पाउलन् भनेर आमाले लुकाउनुभएको थियो ।

अहिले कस्तो छ परिवारसँगको सम्बन्ध ?
छोरी गीतकै माध्यमबाट देशविदेश घुम्न थालेपछि बाआमा खुसी हुनुभयो । कुरा काट्नेहरुका मुख पनि थुनिए । अहिले राम्रो भएको छ । राम्रो काम रहेछ भन्नुहुन्छ । etimesnews.com

,