सहज बन्दै इन्धन आपूर्ति

काठमाडौं, २८ भदौ । बन्द, हडताललगायत आपूर्तिजन्य अवरोध हुनासाथ देशभरका पेट्रोलपम्पमा सवारीसाधनको लाइन लाग्ने गर्छ । यस्ता अवरोधबाट पर्याप्त इन्धन आपूर्ति नभएकै कारण सर्वसाधारणले सास्ती खेप्नुपर्ने प्रवृत्तिलाई रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनले कम गर्ने आशा गरिएको छ । यसको निर्माणकार्य चाँडै सुरु हुँदै छ । आफ्नै खर्चमा बनाइदिन लागेको पाइपलाइन निर्माण सुरु भएको बढीमा ३० महिनामा बनाइदिइसक्ने प्रतिबद्धता भारतले जनाएको छ ।

यो पाइपलाइन बनेपछि भारतीय आयल कर्पोरेसन (आइओसी) को रक्सौल डिपोबाट अमलेखगन्जसम्म पाइपबाटै पेट्रोल, डिजेल र मट्टीतेल ल्याउन सकिन्छ । पाइपलाइनबाट प्रतिघन्टा एक सय ६७ किलोलिटर इन्धन आपूर्ति गर्न सकिने प्रारम्भिक अनुमान छ । नेपाल भित्रने ७० प्रतिशत पेट्रोलियम रक्सौल नाका हुँदै आउने भएका कारण सोही नाकामा पाइपलाइन राख्न लागिएको हो । नेपालबाट दुई किलोमिटर टाढा रहेको रक्सौलदेखि आमलेखगन्जसम्म पाइपका माध्यमबाट तेल ल्याउँदा भन्सार नाकामा हुने झन्झट नव्यहोर्नुपर्ने, ट्यांकरको सहायता लिन नपर्नेजस्ता फाइदा हुनेछन् । त्यस्तै ढुवानी खर्च पनि कम हुनेछ ।

पाइपलाइनका माध्यमबाट चाँडो इन्धन आपूर्ति हुने भएकाले सवारीसाधन प्रयोगकर्ताले पनि इन्धनको समस्या भोग्नु नपर्ने देखिन्छ । नेपाल आयल निगमका प्रवक्ता दीपक बराल पाइपलाइन बनाउन निगम र आइओसी दुवैले हतार गरिरहेको बताउँछन् । ‘हामी दुवै संस्था पाइपलाइन निर्माणको विषयलाई लिएर गम्भीर रूपमा छलफल अघि बढाइरहेका छौँ, चाँडै निर्माणकार्य सम्पन्न गर्न चाहिरहेका छौँ,’ उनी भन्छन् ।

भन्सारबिन्दुमा हुने अवरोध वा तराई बन्दजस्ता कारणले भारतबाट नेपालमा तेल ल्याउन पाइपलाइन भएपछि कुनै रोकावट हुनेछैन । किनभने रक्सौलस्थित आइओसीको डिपोबाट पाइपमा तेल छाडेपछि बाराको अमलेखगन्जस्थित निगमको डिपोमा आइपुग्छ । पाइपमा कुनै समस्या नभए रक्सौलमा छाडेको तेल अमलेखगन्जसम्म आउन बीचमा कुनै अवरोध हुँदैन । त्यसैले पाइपबाट छिटो तेल आउँँछ र आमउपभोक्ताले पनि सजिलै पाउन सक्ने वातावरण बन्छ ।
अर्कातिर इन्धनको गुणस्तरमा सवारीसाधन प्रयोगकर्ताले बारम्बार गुनासो गर्दै आएका छन् । ट्यांकर चालक र निगमको मिलेमतोमा इन्धनमा मिसावट हुने गरेको गुनासो छ । पाइपलाइन बनेपछि रक्सौलदेखि अमलेखगन्जसम्म आउने तेलमा शुद्धताको ग्यारेन्टी हुन्छ । सीमाक्षेत्रमा हुने तनावले इन्धन ढुवानीमा समस्या देखिने गरेको छ, त्यसलाई पनि पाइपलाइनले समाधान गरेको छ ।

अर्कातिर भारतीय क्षेत्रमा तेल बोकेका ट्यांकर चालक लुटिने, चालकमाथि कुटपिट हुने जस्ता घटना बारम्बार दोहोरिने गरेका छन् । त्यस्ता घटनामा पीडित बनेका चालकले इन्धन आपूर्ति बन्द गराई क्षतिपूर्ति माग्ने, दोषीलाई कारबाही हुनुपर्ने माग राख्ने गरेका छन्, जसका कारण आपूर्तिमा समस्या आई उपभोक्ताले पटक–पटक सास्ती खेप्नुपरेको छ । पाइपलाइनबाट तेल ल्याउन थालेपछि ट्यांकर विस्थापित हुनेछन्, जसले गर्दा ट्यांकरचालकको हडतालको असर उपभोक्ताले व्यहोर्नु पर्नेछैन ।

केही समयअघि भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधान र नेपालका तर्फबाट वाणिज्य तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापाबीच पाइपलाइन निर्माणमा सम्झौता गरेपछि निर्माणको बाटो खुलेको छ । नेपाल–भारत जोड्ने पाइपलाइन दक्षिण एसियामै सीमापार जोड्ने पहिलो परियोजना पनि हो । त्यसैले पाइपलाइनले दुई देशको सम्बन्धलाई अझ बढी विश्वसनीय बनाई सार्क राष्ट्रमा बलियो सम्बन्ध स्थापना गर्ने विश्वास गरिएको छ ।

पाइपलाइन निर्माणका लागि दुई अर्ब भारु लागत अनुमान गरिएको छ । पाइपलाइनबाट तेल खन्याउन मिल्ने गरी निगमले अमलेखगन्जस्थित डिपो सुदृढीकरणका लागि ७५ अर्ब भारु खर्च गर्नेछ । डिपो सुदृढीकरणको खर्च सरकारले निगमलाई अनुदानमा उपलब्ध गराउँदै छ ।

पेट्रोलिमय पाइपलाइन बनाइदिन अघि सरेको सरकारी स्वामित्वको भारतीय आयल कर्पोरेसन (आइओसी) को पेट्रोलियम पदार्थ ढुवानी गर्ने पाइपलाइन निर्माणमा विशेष दख्खल छ । इन्धनको कारोबार गर्ने आइओसीले विभिन्न स्थानमा पाइपलाइन बनाइदिने गरेको छ । आइओसीले पहिलोपटक सन् १९६४ मा गुवाहटी–सिलिगुडीसम्म पाइपलाइन निर्माण गरेको थियो । त्यसपछि आइओसीसँग पेट्रोलियम पाइपलाइनको इन्जिनियरिङमा उत्कृष्ट प्रविधि र कला रहेको दाबी हुँदै आएको छ । पछिल्लो चार दशकमा आइओसीले ११ हजार २ सय १४ किलोमिटर पाइपलाइन निर्माण गरिसकेको छ ।

आइओसीले ओमान, इथोपिया, कुवेत र सुडानमा पाइपलाइन निर्माणको व्यवस्थापन, सञ्चालन, मर्मत–सम्भार र तालिम दिने काम पनि गरिसकेको छ । एलपी ग्यासको पाइपलाइन निर्माणको व्यवस्थापनमा समेत आइओसी दख्खल राख्छ । पाइपलाइनको निर्माण, सञ्चालन र हस्तान्तरण प्रणालीमा पनि आइओसीले काम गरिरहेको छ । यस्तो दख्खलकै कारण आइओसीले मजबुत पाइपलाइन निर्माण गरिदिने अपेक्षा गरिएको छ । ४१ किलोमिटर पाइपलाइनलाई जमिनमुनि गाडिनेछैन । रक्सौल–अमलेखगन्जको सडक मार्ग हुँदै बिछ्याइने पाइपलाइन जमिनको सतहमै देखिने गरी राखिनेछ ।

,