यस्तो छ- ३ असोजको तयारी
काठमाडौं, १ असोज । नेपालको संविधान, २०७२ जारी गर्न संविधानसभा भवनमा आइतबार विशेष औपचारिक समारोह हुँदै छ । भव्य समारोहबीच राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी गर्नेछन् । सरकार र संविधानसभा सचिवालयले संविधान जारी गर्न सजावटसहित व्यवस्थापनको तयारी थालेको छ ।
राष्ट्रिय झन्डा, फूल र बत्तीसहित संविधानसभा भवनलाई झकिझकाउ बनाइने सचिवालयका सहप्रवक्ता सुदर्शन कुइँकेलले बताए । उनका अनुसार संविधानसभा भवनको सजावट र सुरक्षाको व्यवस्थापन सुरु भइसकेको छ ।
‘भवन सजावटको काम असोज २ गतेपछि मात्रै हुने भएकाले कसरी भव्य हुन सक्छ भनेर अहिले नै भन्न सकिन्न । तर, जति सकिन्छ भव्य बनाइनेछ,’ कुइँकेलले भने । राष्ट्रपतिलाई सिंहदरबारआसपासबाट घोडचढीसहित रिसल्ला फौज अघिपछि लगाएर संविधानसभामा ल्याइने भन्नेबारे छलफल चलिरहेको छ । गत असारमा सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा पनि राष्ट्रपतिलाई बबरमहलबाट यसरी नै संविधानसभा भवनसम्म लगिएको थियो ।
संविधानसभा भवनमा राष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गर्नेछ । संविधानसभा हलभित्र प्रवेश गरेपछि सभासद्ले हस्ताक्षर गरी सभामुखले प्रमाणीकरण गरेको नेपालको संविधान, २०७२ लाई सभामुख सुवास नेम्वाङले राष्ट्रपतिलाई हस्तान्तरण गर्नेछन् ।
संविधानसभा नियमावली, ०७० को अनुसूची ७ को नियम ११० को उपनियम ३ अनुसार राष्ट्रपतिले नयाँ संविधानमा हस्ताक्षर गरेर सार्वजनिक गर्नेछन् र जारी भएको घोषणा गर्नेछन् । घोषणाको ढाँचामा भनिएको छ, ‘संविधानसभाबाट पारित एवं संविधानसभाका अध्यक्षद्वारा प्रमाणित भई प्रस्तुत नेपालको संविधान आज मिति २०७२ असोज ३ मा प्रारम्भ भएको नेपाली जनतासमक्ष घोषणा गर्दछु ।’
संविधानसभा सचिवालयले राष्ट्रिय औपचारिक समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, सुरक्षा निकायका प्रमुख, संवैधानिक अंगका पदाधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि तथा पूर्वसभासद्लाई निम्तो पठाएको छ । संविधान जारी गर्ने समारोहमा उपस्थित सबै पाहुनालाई औपचारिक पोसाकमा आउन आग्रह गरिएको छ । समारोहमा उपस्थित हुने करिब दुई हजार पाहुनालाई प्रोजेक्टरबाट पनि संविधान जारी कार्यक्रम देखाइनेछ ।
राष्ट्रपतिले संविधान जारीसँगै संविधानसभाको अन्तिम बैठक बस्नेछ र सभामुखले संविधानसभाका विगतका गतिविधिबारे भनाइ राख्ने कार्यक्रम छ । सचिवालयका सहप्रवक्ता कुइँकलेका अनुसार सोही कार्यक्रममा सभासद्हरूले गरेको योगदानलाई सभामुखले धन्यवाद दिनेछन् । बैठकले राष्ट्रपतिलाई पनि धन्यवाद दिने प्रस्ताव पारित गर्नेछ ।
सचिवालयका कर्मचारीका अनुसार समारोह करिब डेढ घन्टा चल्ने अनुमान छ । संविधान जारी भएसँगै देशभर दीपावली गर्ने कार्यक्रम पनि तय भएको छ । सचिवालयले संविधान जारी गरेपछि संविधानसभा भवन परिसरमा रात्रिभोज आयोजना गर्ने भएको छ । समारोहमा आउने सबै पाहुनालाई भोजमा सरिक गराइनेछ ।