एनसेलबाट लगानी फिर्ता लैजाँदै टेलियासोनेरा


काठमाडौं, १ असोज । स्विडिस कम्पनी टेलियासोनेराले एनसेलबाट आफ्नो लगानी फिर्ता लैजाने भएको छ । टेलियासोनेराले रेनल होल्डिङ्सको नाममा एनसेल प्रालिमा रहेको ८० प्रतिशत सेयर बिक्री गर्ने भएको हो ।

टेलियासोनेराले बिहीबार एक विज्ञप्ति सार्वजनिक गरेर एनसेलबाट लगानी फिर्ता लैजाने प्रक्रिया सुरु गरेको घोषणा गरेको हो । हाल एनसेलमा रेनल होल्डिङ्सका अलावा नेपाली लगानीकर्ता नीरजगोविन्द श्रेष्ठको २० प्रतिशत सेयर रहेको छ ।

एनसेलले नेपालमा सन् २००८ मा स्पाइस नेपाल प्रालिमा ८० प्रतिशत लगानी गरेको थियो । उक्त समय स्पाइस नेपालले ‘मेरो मोबाइल’ ब्रान्डमा सेवा सञ्चालन गरेको थियो । त्यसको दुई वर्षपछि सन् २०१० मा टेलियासोनेराले कम्पनीको नाम र ब्रान्ड नै फेरेर ‘एनसेल’ राखेको हो ।

एनसेलको चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको छ । हालसम्म एनसेलमा करिब६५ अर्ब रुपैयाँ लगानी भइसकेको छ । एनसेलले काठमाडौं, पोखरा र हेटाँैडामा आफ्नै भवनमा ‘डाटा सेन्टर’ स्थापना गरेको छ । त्यस्तै, काठमाडौंको एकान्तकुनास्थित कार्यालय पनि एनसेलकै स्वामित्वको हो ।

टेलियासोनेराको व्यवस्थापन तथा सञ्चालक समितिले युरोएसिया क्षेत्रको लगानी फिर्ता लैजाने निर्णय गरेको हो । कम्पनीले युरोप र स्विडेनमा बढी केन्द्रित हुँदै टेलियासोनेरालाई ‘नयाँ टेलियासोनेरा’का रूपमा विकसित गर्ने रणनीतिका साथ युरोएसियाबाट लगानी फिर्ता लैजाने निर्णय गरेको हो । यससँगै टेलियासोनेराले नेपालका साथै कजाकिस्तान, उज्वेकिस्तान, अजरबैजान, जर्जिया, मोल्डोभा र ताजकिस्तानबाट समेत आफ्नो लगानी फिर्ता लैजाने भएको हो ।

दूरसञ्चार बजारको द्रुतगतिको परिवर्तनलाई ध्यान दिँदै टेलियासोनेराको व्यवस्थापन र सञ्चालक समितिले युरोप र स्विडेनमा अफ्नो समय र स्रोत केन्द्रित गर्ने निर्णय लिएको टेलियासोनेराका प्रेसिडेन्ट तथा प्रमुख कार्यकारी अधिकृत जोहन डेनिलिन्डले बताए । युरोएसिया क्षेत्रमा आफ्नो कम्पनीलाई परेको दबाब घटाउन यस्तो निर्णय लिइएको उनले बताए ।

टेलियासोनेराले सन् २०१३देखि युरोएसिया क्षेत्रमा माथिल्लो तहमा पुग्न ध्यान केन्द्रित गरेको थियो । ठूलो विकासका लागि कर्पोरेट गभर्नेन्स र दिगो विकासको योजना बनाएको थियो । यसले दिगो र नाफामूलक बिजनेस बनाउने कम्पनीले विश्वास गरेको थियो । तर, बजारमा सही बाटोबाट जानु महत्त्वपूर्ण भएको कम्पनीले जनाएको छ ।

कम्पनीले युरोप र स्विडेनमा दूरसञ्चारको आबद्धता, सञ्जाल र उपस्थितिलाई व्यापक बनाई ‘कोर बिजनेस’ नयाँ शिराबाट सुरुवात गर्ने जनाएको छ । ‘सञ्चालक समितिले आफ्ना सेयरधनी, कर्मचारी र ग्राहकका लागि केचाहिँराम्रो हुन्छ भन्ने कुराको ध्यानपूर्वक परीक्षण गरेको थियो,’ सञ्चालक समितिका अध्यक्ष मारिय एर्लिङले भने।

युरोएसियामा उपस्थिति घटाउने प्रक्रिया सुरु भइसकेको छ । तर, कति समय लाग्छ भन्ने अहिल्यै तोक्न सकिँदैन । नयाँ टेलियासोनेराको स्वरूप बनिरहेको छ । यद्यपि, टेलियासोनेराले सेवा सञ्चालन तथा विकासलाई भने जिम्मेवारीपूर्वक निरन्तरता दिने भएको छ ।

,