‘भागदौड मानवीय नियन्त्रणबाहिर’

रियाद/ साउदी अरबका ग्रान्ड मुफ्ती शेख अब्दुल अजिज बिन–अब्दुल्लाह अल–शेखले मक्कामा भएको भागदौड मानवीय नियन्त्रणबाहिरको भएको बताएका छन् । बिहीबार बिहान भएको भागदौडमा कम्तीमा सात सय १७ को मृत्यु भएको थियो भने आठ सय ८३ घाइते भएका थिए ।

‘दुर्घटनामा कसैको दोष छैन किनभने नियति र भाग्यमाथि कसैको नियन्त्रण हुँदैन,’ साउदी अरबका गृहमन्त्री युवराज मोहम्मद बिन–नएफसँगको भेटमा ग्रान्ड मुफ्तीले भने । इरानलगायत विभिन्न मुलुकले साउदीले मक्काको सुरक्षा व्यवस्थालाई गम्भीर रूपमा नलिएको भन्दै आलोचना गरेका छन् । यो वर्ष भएको भागदौड पछिल्लो २५ वर्षकै सबैभन्दा घातक थियो ।

राजा सल्मानले सुरक्षा व्यवस्थाको पुनरावलोकन गर्न आदेश दिइसकेका छन् । शनिबार हजयात्राको अन्तिम दिन हो । अहिले भने कुनै गम्भीर घटना भएको छैन । ग्रान्ड मुफ्ती अल–शेखलाई भेट्न युवराज शुक्रबार साँझ गएको सरकारी समाचार संस्था साउदी प्रेस एजेन्सीले जनाएको छ । उपप्रधानमन्त्रीसमेत रहेका युवराज सर्वोच्च हज कमिटीका प्रमुख हुन् ।

‘जे भयो त्यसका लागि तपाईं जिम्मेवार हुनुहुन्न,’ उनले भने, ‘यो मानवीय नियन्त्रणमा हुँदैन, त्यसैले यसको दोष तपाईंमाथि लाग्दैन । नियति र भाग्यलाई कसैले रोक्न सक्दैन ।’ इरानी राष्ट्रिय सुरक्षा परिषद्ले साउदी सुरक्षा व्यवस्थापनमा अक्षम भएको आरोप लगाउँदै सबै मृत्युको जिम्मेवारी उसले नै लिनुपर्ने प्रतिक्रिया दिएको एक दिन नबित्दै साउदीका सर्वोच्च धर्मगुरुले यस्तो प्रतिक्रिया दिएका हुन् ।

शनिबार इरानी अभियोजक जनरल सइद इब्राहिम राइसीले ‘अपराधका लागि इरान साउदी शाही परिवारविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा जाने’ बताएका थिए । भागदौडमा मर्नेमध्ये सबैभन्दा बढी विदेशी नागरिक इरानका छन् । इरानले आफ्ना एक सय ३४ नागरिकको मृत्यु भएको र अन्य तीन सय ४० हराइरहेको जनाएको छ । हराउनेमा लेबनानका लागि पूर्व इरानी राजदूतसमेत रहेको सरकारी टेलिभिजनले बताएको छ ।