पाँच सय तिर्दा ५० हजारको उपचार

काठमाडौं, १४ असोज
काठमाडौं, १४ असोज
काठमाडौं, १५ असोज । स्वास्थ्य बिमामा सहभागी हुने व्यक्तिले ६६ प्रकारका रोगमा ५० हजार रुपैयाँ बराबरको उपचार सुविधा पाउने भएका छन् । त्यसका लागि प्रतिपरिवार (पाँचजना) दुई हजार पाँच सय रुपैयाँको दरले प्रिमियम बुझाउनुपर्नेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले बिमामा आबद्ध भएका व्यक्तिले सामान्य झाडापखालादेखि एपेन्डिसाइटको शल्यक्रियासम्मको उपचार नि:शुल्क पाउँछ । त्यस्तै, सामान्य घाउघटिरा, चोटपटक, ग्यास्ट्रिक, ज्वरोदेखि मिर्गाैला, मुटुरोग, शल्यक्रिया गरी हुने सुत्केरी, पाठेघर खस्ने समस्यालगायतका उपचारको व्यवस्था छ ।

 बिमा सञ्चालनका लागि तयार पारिएको सामाजिक स्वास्थ्य सुरक्षा (सञ्चालन) नियमावली २०७२ तयार भएपछि मन्त्रालयले १५ कात्तिकदेखि इलाम, बागलुङ र कैलालीमा नमुनाका रूपमा यो कार्यक्रम सुरु गर्ने तयारी गरेको थियो । तर, लागू हुने समय नजिकिँदै गर्दा कार्यक्रम सुरु हुन अझै केही समय लाग्ने संकेत देखिएको छ ।

समितिका कार्यकारी निर्देशक श्रीकृष्ण नेपालले उपचार दिएबापत अस्पताललाई कसरी रकम भुक्तानी गर्ने भनेर ‘कस्टिङ’ तयार नहुँदा सम्झौता नभएको र बिमाका लागि चाहिने सफ्टवेयर पनि ती संस्थाहरूमा जडान नभइसकेको बताए । उनले आइटीको प्रयोग हुने बिमामा कार्यरत जनशक्तिलाई तालिम दिन पनि बाँकी नै रहेको बताए । समितिले एक परिवारमा पाँचजना सदस्यको अनुमान गर्दै प्रतिसदस्य पाँच सय रुपैयाँको दरले २ हजार ५ सय प्रिमियम बुझाएर ५० हजार रुपैयाँबराबरको उपचार व्यवस्था गरेको हो । तर, पाँचभन्दा बढी सदस्य भएका परिवारले प्रतिसदस्य चार सय ५० रुपैयाँको दरले थप प्रिमियम बुझाए थप १० हजार रुपैयाँ बराबरको उपचार दिने व्यवस्था छ ।

बिमाका लागि अतिगरिब परिवारको शतप्रतिशत प्रिमियम सरकारले बुझाउने व्यवस्था छ । त्यस्तै, गरिब परिवारका लागि ७५ प्रतिशत र जोखिममा परेका परिवारका लागि ५० प्रतिशत प्रिमियम सरकारले सहयोग गर्नेछ । उपचारका लागि छुट्टयाइएको ५० हजार रोगको पहिचान, परीक्षण, औषधि, भर्ना, बेड चार्जमा खर्च गरिने समितिले जनाएको छ । समितिले यो वर्ष तीन जिल्लाका २५ प्रतिशत परिवार मात्रै सहभागी हुने अपेक्षा गरेको छ ।

सोहीअनुसार आठ हजार परिवार दर्ता हुने अनुमान उसको छ । बिमामार्फत उपचारका लागि जिल्ला अस्पताल, क्षेत्रीय अस्पताल र केन्द्रीय अस्पताल तोकी गाइडलाइन बनाइएको समितिले जनाएको छ ।

,