मधेस तनावग्रस्त, चारको मृत्यु

 सप्तरी, ७ मंसिर । सप्तरीको भारदह, रूपनी र राजविराजमा प्रहरीको गोली लागेर चारजनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको विभिन्न पाँच ठाउँमा शनिबार मध्यराति धर्ना दिइरहेका मधेसी मोर्चाका कार्यकर्तालाई हटाउने क्रममा भएको झडपमा शनिबार राति दुईजना र आइतबार दुईजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सप्तरी डाढाका १८ वर्षीय वीरेन्द्र राम, जमुनी मधेपुराका २२ वर्षीय नागेश्वर यादव, १८ वर्षीय शिवशंकर दास र राजविराजका ३५ वर्षीय दिलीप साह रहेका छन् । दासको उपचारका क्रममा आइतबार मृत्यु भएको हो । शनिबार राति राजमार्गमा भएको झडपमा गोली लागेका उनलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।

राजविराजमा आइतबार साँझ प्रहरीले चलाएको गोली लागेर घाइते भएका साहको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उनको मृत्यु भएको हो । घरको छतमा रहेका उनलाई कन्चटमा गोली लागेको थियो । उनकी ८ वर्षीया छोरी मुस्कानको हातमा छर्रा लागेको छ । आफ्नो घरछेउमा प्रदर्शनकारी र प्रहरीबीच झडप भइरहेको अवस्थामा प्रहरीले चलाएको गोली साह र उनकी छोरीलाई लागेको प्रत्यक्षदर्शीको भनाइ छ ।
 
सय दिनदेखि आन्दोलनरत मधेसी मोर्चाका सयौँ नेता–कार्यकर्ताले ‘चलु राजमार्ग, भरु राजमार्ग’ भन्ने अभियानअन्तर्गत राजमार्गमा मध्यराति धर्ना दिएका हुन् । धर्ना दिइरहेको अवस्थामा प्रहरीले हस्तक्षेप गरेको मोर्चाले जनाएको छ । पूर्व र पश्चिमबाट रातिको समयमा आउने सवारीसाधनलाई स्कर्टिङ गरी प्रहरीले गन्तव्यसम्म पुर्‍याउँदै आएको छ । 

प्रहरीले स्कर्टिङ गर्दै सवारीसाधन गन्तव्यतर्फ पुर्‍याउन थालेपछि मोर्चा कार्यकर्ताले राजमार्गमा धर्ना दिएका हुन् । राजमार्ग भरौँ अभियानअन्तर्गत सप्तरीको भारदह, पोर्ताहा, रूपनी, बिसनपुर र कदमाहामा मधेसी मोर्चा, थारू संघर्ष समिति र मुस्लिम गठबन्धनको संयुक्त अगुवाइमा सयौँ कार्यकर्ता धर्ना बसेका थिए ।

प्रहरीले सप्तरीको कोसी ब्यारेजबाट राति ११ बजेपछि सवारीसाधनको स्कर्टिङ गर्दै आएको थियो । तर, शनिबार राति उल्लेख्य संख्यामा मोर्चा कार्यकर्ता राजमार्गको विभिन्न ठाउँमा धर्ना र प्रदर्शनमा उत्रिएपछि स्कर्टिङ गर्न प्रहरीलाई मुस्किल परेको थियो ।

प्रदर्शनकारीले भारदहमा प्रहरीको एउटा भ्यानमा शनिबार साँझ नै ढुंगामुढा गरेका थिए । ढुंगामुढा गरेको आरोपमा प्रहरीले कंकालिनी मन्दिरबाट साइकलमा घर फर्किंदै गरेका इनरुवा–१ बनरझुलाका धर्मेन्द्रकुमार साहलाई नियन्त्रणमा लिई कुटपिट गरेपछि भारदहको स्थिति तनावग्रस्त बन्न पुगेको थियो ।

राजमार्गमा रहेका धर्नाकारीलाई हटाउन सयौँको संख्यामा भारदह क्षेत्रमा खटिएका सशस्त्र र नेपाल प्रहरीले अश्रुग्यास र करिब ८० राउन्ड हवाईफायर गरेको थियो । त्यसपछि प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । सोही क्रममा प्रहरीको गोली लागेर वीरेन्द्र रामको घटनास्थलमै मृत्यु भएको थियो । भारदहको झडपमा १२ जना घाइते भएका थिए ।

भारदहमा झडप भइरहेकै समयमा करिब साढे ११ बजेतिर सप्तरीको रूपनीमा पनि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । सोही झडपमा प्रहरीको गोली लागेर जमुनी मधेपुुरा–९ छपकीका नागेश्वर यादवको मृत्यु भएको हो ।

रूपनी घटनामा गोली लागेर घाइते भएका पाँचजनामध्ये रामउदगार साह र रघु साफीको स्थिति चिन्ताजनक रहेको उपचारमा संलग्न चिकित्सक बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रामज्ञान यादवले जानकारी दिए । गोली लागेर घाइते भएकाहरूको धरानमै उपचार भइरहेको छ । प्रहरीको लाठीचार्जबाट रूपनीमा घाइते भएका २५ जना प्रदर्शनकारीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

मोदीपुत्र भन्दै प्रहरीले दमन गर्‍यो : मोर्चा नेता
सप्तरीको रूपनीस्थित राजमार्गमा शान्तिपूर्ण धर्ना बसेका मोर्चाका नेता–कार्यकर्तालाई त्यहाँबाट भगाउन प्रहरीले हस्तक्षेपसँगै अपमानसमेत गरेको मोर्चाका नेताहरूले आरोप लगाएका छन् । डिएसपी नारायणप्रसाद चिमोरियाको कमान्डमा रहेका सुरक्षाकर्मीले आफ्नै नागरिकलाई ‘मोदीपुत्रहरूलाई गोली ठोक’ भन्दै अन्धाधुन्ध गोली प्रहार गरेको संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य शैलेन्द्रप्रसाद साहले दाबी गरे ।

चिकित्सकद्वारा कामकाज ठप्प
प्रहरीको गोली लागेर रूपनीमा मृत्यु भएका नागेश्वर यादवको शव राजविराजस्थित अञ्चल अस्पतालमा राखिएको हुनाले त्यहाँ आइतबार बिहानैदेखि सयौँको संख्यामा मोर्चा कार्यकर्ता र सर्वसाधारणको भीड जम्मा भएको थियो । सोही वेला अस्पताल आएका जिल्ला प्रहरी कार्यालयको ना१झ १३१६ नम्बरको भ्यानमा आक्रोशित उपस्थित भीडले आगजनी गरिदिएपछि राजविराजको स्थिति तनावग्रस्त बन्न पुगेको हो । प्रहरी अस्पतालमै प्रवेश गरी स्वास्थ्यकर्मीमाथि अन्धाधुन्ध लाठीचार्ज गरेकाले काम गर्ने अवस्था नभएको भन्दै आइतबार दिउँसोदेखि अस्पताल बन्द गरेको प्रमुख यादवले जानकारी दिइन् ।

दुईवटा प्रहरी बिट जलाइयो
घटनाको विरोधमा आक्रोशित मधेसी मोर्चाका कार्यकर्ताले राजविराजमा रहेका दुईवटा प्रहरी बिट जलाइदिएको छ । राजविराजको बागेश्वरी मन्दिरनजिकै रहेको सशस्त्र प्रहरीको अस्थायी पोस्ट र रूपनी मोडमा रहेको नेपाल प्रहरीको बिटमा आगजनी गरिएको हो ।

राजमार्गको पुल भत्काइयो
शनिबार रातिको घटनापछि राजमार्गको बरमझिया–बैरवा खण्डमा रहेका मधेसी समुदायका केही व्यक्तिलाई प्रहरीले कुटपिट गरेको विरोधमा स्थानीयले स्काभेटर प्रयोग गरी राजमार्ग खण्डको सुन्दरी खोलामा रहेको एउटा पुल भत्काएका छन् । नजिकै रहेको सशस्त्र प्रहरी बल दन्तकाली गणबाट सशस्त्र प्रहरी पुलमा पुगेपछि पुल पूर्ण रूपमा भत्किनबाट जोगिएको थियो । सो क्रममा भएको झडपमा आधा दर्जन घाइते भएका हुन् । आधा पुल भत्किएपछि अब राजमार्गबाट सवारीसाधन आवत–जावत गर्न कठिनाइ उत्पन्न हुने भएको छ ।

प्रहरीमाथि जाइलागेपछि बल प्रयोग : जिल्ला सुरक्षा समिति
जिल्ला सुरक्षा समन्वय समितिले प्रहरीलाई घेरा हाली ढुंगा, गुलेली प्रहार गर्ने काम भएपछि सामान्य बल प्रयोग गर्नुपरेको जनाएको छ । जिल्ला सुरक्षा समितिको निर्णयपत्रमा भारदहमा प्रदर्शनकारीबाट गोली प्रहार भएको उल्लेख छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी अनिल ठाकुरले घटना दु:खद् भएको प्रतिक्रिया दिँदै प्रहरीबाट गल्ती भएको पाइएमा आवश्यक छानबिन गरी कारबाही गर्ने प्रतिबद्धता जनाए ।

प्रहरी दमन अत्यधिक : नागरिक समाज
सप्तरीका नागरिक समाज, अधिकारकर्मी र जिल्ला रेडक्रसले सप्तरीमा शनिबार र आइतबार भएको प्रहरी कारबाहीमा अत्यधिक बल प्रयोग गरिएको जनाएको छ । ‘शान्तिपूर्ण ढंगले राजमार्गमा धर्ना बसेका निहत्था जनतामाथि प्रहरीले ताकेर गोली हान्ने काम गरेको छ,’ नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीले भने, ‘यो प्रहरीको ज्यादती हो, प्रहरीको यस्तो क्रियाकलापले मुलुकमा साम्प्रदायिकता फैलिने सम्भावना बढेकाले सचेत हुनु जरुरी छ ।’

सप्तरीका सिडिओ मन्त्रालय तानिए
सप्तरीका प्रमुख जिल्ला अधिकारी अनिल ठाकुर मन्त्रालयमा तानिएका छन् । शनिबार र आइतबार भएको आन्दोलनमा प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै उनलाई मन्त्रालय तानिएको हो । सप्तरीका लागि नयाँ सिडिओ खटाइएको छैन ।

आन्दोलन बढ्दै गए सेना
सप्तरीमा आन्दोलन थप हिंसात्मक बन्दै गए सेना खटाउनेबारे आइतबारको केन्द्रीय सुरक्षा समितिको बैठकमा सुरक्षा अधिकारीहरूले प्रस्ताव गरेका छन् । पहिलेजस्तै स्थानीय प्रशासन ऐनअनुसार नै सेना खटाउने तयारीमा गृह मन्त्रालयसमेत रहेको स्रोत बताउँछ । गृहमन्त्रीको अध्यक्षतामा शनिबार र आइतबार केन्द्रीय सुरक्षा समितिको बैठक बसेको थियो । बैठकमा तराईमा आन्दोलन झन् चर्किंदै गएकाले त्यसको सामना गर्न सेना नै खटाउनुपर्ने आवाज उठेको थियो ।

,