चीनबाट इन्धन ल्याउन अझै चुनौती


काठमाडौं, ७ मंसिर । चीनबाट इन्धन आयातको बाटो खुले पनि आपूर्तिमा अझै चुनौती छन् । तेल ल्याउन सहज–असहज पक्षबारे अध्ययन गर्न सोमबार नेपाल आयल निगमको दुई सदस्यीय प्राविधिक टोली चीन जाने भएको छ ।

चीनले नेपाललाई बेच्ने इन्धनमा कर छुट दिन नमानेपछि व्यापारिक सम्झौता गर्न ढिलाइ भएको छ । शुक्रबार नै तेल खरिदको व्यापारिक सम्झौता गर्न नेपाली टोली चीन जाने तयारी भए पनि करको विषय नमिलेपछि टोली रोकिएको छ ।

निगमका निमित्त नायब प्रबन्ध निर्देशक सुशील भट्टराई र निर्देशक दीपक बराल सहज–असहज पक्षबारे अध्ययन गर्न सोमबार चीन जान लागेका हुन् । उनीहरूले चीनबाट स्थानीय कर र भन्सार कर छुटका लागि पहल गरी चीनले कुन मूल्यमा तेल दिने भन्ने विषय पनि टुंगो लगाउनेछन् । ‘हामी चीनबाट आउने तेलमा कर छुटलगायतका विषयमा कुरा गर्न सोमबार जाँदै छौँ,’ भट्टराईले भने, ‘सबै कुरा मिलिसकेपछि मात्रै व्यापारिक सम्झौता भई तेल आउने हो ।’

इन्धन ल्याउन नाका बाधक
  • चीनको कुन ठाउँबाट नेपालले इन्धन ओसार्ने भन्ने निश्चित भइसकेको छैन । अनुदानको तेल तिब्बतको केरुङ बजारबाट ओसारे पनि व्यापारिक सम्झौतापछि त्यहाँ तेल ओसार्न सकिने अवस्था छैन । केरुङमा चिनियाँ तेल कम्पनीको भण्डारणगृह पनि छैन ।

  • आयल निगमले चीनको स्वशाशित क्षेत्र तिब्बतको सिगात्सेबाट इन्धन ल्याउने सोच बनाएको छ । त्यहाँ चिनियाँ नेसनल पेट्रोलियम कर्पोरेसन (सिएनपिसी)को ५० हजार किलोलिटर क्षमताको भण्डारणगृह छ । सिगात्सेबाट केरुङ–रसुवागढी हुँदै काठमाडौं आउन ६ सय ८५ किलोमिटर दूरी छ । नेपालतर्फको सडक उकालो–ओरालो, घुम्ती र खाल्डाखुल्डी धेरै भएकाले ढुवानीमा समस्या हुनेछ ।

  • चीनको मौसमका कारण केरुङबाट वर्षैभर तेल ल्याउन पनि मुस्किल छ । केरुङमा नोभेम्बरको अन्त्यदेखि फेब्रुअरीसम्म हिउँ परेर बाटो नै अवरुद्ध हुन्छ । वर्षायाममा नेपालतर्फको बाटोमा पहिरोको जोखिम हुन्छ ।

  • सिगात्सेबाट सिन्धुपाल्चोकको तातोपानी हुँदै तेल ल्याउन सकिन्छ । यो बाटोबाट भने पाँच सय पाँच किलोमटिर दूरी पार गरी चिनियाँ तेल काठमाडौं ल्याउन सकिन्छ । तर, १२ वैशाखको भूकम्पपछि तातोपानी नाका सुचारु छैन । नेपालतर्फको सडकमा अवरोध खुलाए पनि चीनले खासाको बाटो मर्मतसंभार गरेको छैन । उसले खासाको बस्ती नै न्यालम भन्ने ठाउँमा सारेको छ।

करमा किचलो
चीनले नेपाल निर्यात गर्ने पेट्रोलियम पदार्थमा स्थानीय कर र भन्सार कर छुट दिन मानेको छैन । तर, नेपाली पक्षले स्थानीय कर छुटका लागि पहल गरेको छ । चीनमै दुईथरी कर र नेपालतर्फको भन्सारमा कर बुझाउँदा इन्धन बिक्री मूल्य उच्च हुन्छ । करको विषय मिलाउन आयल निगमका निमित्त नायब प्रबन्ध निर्देशक सुशील भट्टराई र निर्देशक दीपक बराल सोमबार चीन जाँदै छन् ।

ग्यास ल्याउन पनि समस्या
नेपालले चीनबाट कम्तीमा कुल खपतको एकतिहाइ इन्धन आयात गर्ने समझदारी गरिसकेको छ । बाटोको असहजताका कारण तत्कालै ग्यास आउँदैन । केरुङ–रसुवागढीको सडक अप्ठ्यारो भएका कारण ग्यास ल्याउन कठिन छ । तातोपानी नाका सुचारु भएको छैन । तातोपानी सुचारु भए ग्यास ल्याउन सहज हुनेछ । चीनबाट ग्यास ओसार्न बुलेटको पनि समस्या छ । चीनमा २४ टन क्षमताका बुलेट प्रयोगमा छन् । नेपाली बुलेट १८ टन क्षमताका मात्रै छन् ।

,