उत्तर कोरियाद्वारा विदेशीलाई दक्षिण कोरिया छोडन चेतावनी

प्योङयाङ, चैत्र २७ । उत्तर कोरियाले दक्षिण कोरियामा रहेका विदेशीहरुलाई मुलुक छाड्ने उपाय सोच्न सुझाव दिएको छ । कोरियाली प्रायद्धीपमा युद्ध भएको अवस्थामा दक्षिण कोरियामा रहेका विदेशीहरुलाई क्षति नपुगोस् भन्ने आफ्नो चाहना रहेको भन्दै उत्तरले यस्तो आग्रह गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उत्तर कोरियाले दक्षिण कोरियामा रहेका सबै विदेशी संगठन, कम्पनी र पर्यटकहरुलाई त्यहाँंबाट निस्कने उपाय खोज्न भनेको छ । उत्तर कोरियाले मिसायल परिक्षण गर्ने सम्भावना बढिरहेका बेला यस्तो चेतावनी आएको हो ।

उत्तर कोरियाले पछिल्ला दिनहरुमा दक्षिण कोरिया, जापान र कोरियाली प्रायद्धीपमा रहेका अमेरिकी सैन्य वेश क्याम्पहरुमा लगातार जसो आक्रमणको धम्की दिइरहेको छ ।

यसैबीच जापानले राजधानी टोकियोमा आफ्ना ३ करोड जनताको सुरक्षार्थ एण्टी मिसायल प्रणाली परिचालन गरेको छ । जापानी प्रधानमन्त्री शिन्जो आबेले आफ्ना जनताको सुरक्षाका लागि हरसम्भव उपाय अपनाउने भन्दै उनीहरुलाई सुरक्षित महशुस गर्नका लागि वातावरण बनाउने बताएका छन् ।

अमेरिकाले पनि आफ्नो रक्षा मन्त्रालय लगायत अरु दुई सैन्य आधारहरुमा एण्टी मिसायल प्रणाली परिचालन गरेको छ ।

यता, आज मात्र दक्षिण कोरियाली समाचार एजेन्सी योनहापले उत्तर कोरियाले पूर्वी समुद्री तटबाट मध्यम दुरीको मिसायल परीक्षणको तयारी पूरा गरेको र भोलिसम्म परक्षीण हुन सक्ने जनाएको छ ।

यसैबीच उत्तर कोरियाले दक्षिण कोरियाली व्यवसायीहरुको लगानीमा सञ्चालित सीमा क्षेत्रको केसोंग संयुक्त औधोगिक क्षेत्रमा काम बन्द गरेपछि ५३ हजार उत्तर कोरियाली बेरोजगार बनेका छन् ।

सो औधोगिक क्षेत्र उत्तर कोरियाका लागि बैदेशिक मुद्रा आर्जनको बलियो स्रोत थियो ।