उत्तर कोरियाले छोटो दूरीको तिन मिसाइल परीक्षण गरे

प्योङयाङ, जेष्ठ ५ – उत्तर कोरियाले सी अफ जापानमा शनिबार छोटो दूरीका तीन वटा मिसाइल परीक्षण गरेको छ। यो उत्तर कोरियाको सैनिक अभ्यासको एक भाग भएको हुनसक्ने जानकारी दक्षिण कोरियाली प्रतिरक्षा मन्त्रालयले दिएको छ। उत्तर कोरियाले कहिलेकाँही आफ्नो सैनिक अभ्यासको क्रममा छोटो दूरीको क्षेप्यास्त्र प्रहार गर्ने गरेको बताइएको छ।

उत्तर कोरियाको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उत्तरले शनिबार विहान दुई वटा र दिउँसो एक वटा मिसाइल परीक्षण गरिएको उल्लेख छ। मन्त्रालयका अधिकारीहरुले मिसाइल परीक्षणपछिको अवस्थालाई सतर्कताका साथ अनुगमन गरिरहेको जनाएका बीबीसीले उल्लेख गरेको छ।

अमेरिका तथा दक्षिण कोरियाले यसै साता संयुक्त सैनिक अभ्यास गरेका थिए र उत्तर कोरियाले यो युद्धको पूर्वअभ्यास भएको र यसले आफूलाई भड्काउनसक्ने बताएको थियो। दुई दिनसम्म चलेको उक्त अभ्यास मङ्गलबार सम्पन्न भएको थियो र यसमा पारमाणविक क्षमतायुक्त अमेरिकी विमान युएसएस निमित्ज प्रयोग भएको थियो।

गत वर्षको फेब्रुवरीमा उत्तर कोरियाले तेस्रो आणविक परीक्षण गरेपछि कोरियाली प्रायद्धीपमा बढेको तनाब केही मत्थर भैरहेका बेला उत्तरले शनिबार मिसाइल परीक्षण गरेको हो। गत महिना अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यास पछि उत्तर कोरियाले अमेरिकी सैन्य वेश, दक्षिण कोरिया र जापानमा आक्रमणको धम्की दिएको थियो।

त्यस्तै दक्षिण कोरियासँगको आपतकालीन सैन्य हटलाइन बन्द गर्नुका साथै केइसङमा रहेको संयुक्त औद्योगिक क्षेत्रबाट आफ्ना ५३ हजार कामदार पनि उत्तर कोरियाले फिर्ता लगेको थियो। दक्षिण कोरियाले हाल उत्तर कोरियाप्रति उच्च सतर्कता अपनाएको छ । उसले उत्तर कोरियासँगको जोखिमपूर्ण अवस्थाका लागि आफूलाई उच्च रूपमा तयार हालतमा राखेको दाबी गरेको छ।

श्रोत: welovenepa