आयल निगमको घाटा एक अर्ब नाघ्यो

९ भाद्र, काठमाडौं ,

आयल निगमका कार्यकारी निर्देशक सुरेशकुमार अग्रवालले नेपाल आयल निगमको घाटा एक अर्ब ६ करोड पुगेको बताएका छन् । कार्यकारी निर्देशक डलर मूल्यमा भएको निरन्तर बृद्धिले आयल निगमको घाटा अरु बढ्ने खतरनाक अवस्था रहेकाले समयमै ध्यान दिन पनि माग गरे । उनले नेपाल ढुवानी व्यवसायी महासंघको पाँचौ  महाधिवेशनको उदघाटन समारोहलाई संवोधन गर्दै भने,–समयमै यसको स्वास्थ्यमा ध्यान नदिने हो भने गम्भीर अवस्था आउने छ ।

अर्थमन्त्री शंकरप्रसाद कोइरालाले तेल र ग्यासलाई राजनीतिक एजेण्डा बनाएका कारण समस्या आएको बताएका छन् । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघको पाँचौ महाधिवेशनलाई शनिबार संवोधान गर्दै वाणिज्य तथा आपूर्ति मन्त्री समेत रहेका अर्थमन्त्री कोइरालाले आफु भित्रका कमजोरी सच्याएर अघि बढ्न व्यावसायीहरुलाई आग्रह पनि गरे । मन्त्री कोइरालाले बर्तमान सरकार आफैमा व्यावसायिक भएपनि मूल्य समायोजन गर्दा आपूर्ति व्यवस्थापनमा खलल् पर्ने भएकाले त्यस्तो अप्रिय कदम नचालिएको स्पष्ट पारे । उनले भने,‘यो सरकारले कसैको दैनिक काममा हस्तक्षेप गर्दैन । राजनीतिक र पार्टीगत संघ संस्थालाई प्रयोग गरिएको छैन । तपाईंहरुका संस्थामा कार्टेलिङ र सिण्डिकेटका गुनासा छन् । तिनीहरुको यथोचित सुधार खोज्नुस् ।’ अर्थमन्त्री कोइरालाले भने– त्यसपछि सरोकारवालाहरु र जनताको सहभागितामा आयल निगमको व्यवस्थापनमा कसरी सुधार ल्याउन सकिन्छ भन्ने बारे सोच्न सकिन्छ ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयका निमित्त सचिव दीपक सुवेदीले अनुगमनको मापदण्ड सरकारले तयार गरिरहेकाले गुनासो कम हुने बताए ।
व्यवसायीहरुले भने निजीक्षेत्रको नाममा राष्ट्रिय  अस्मिता बोकेको संस्थालाई धराशायी नबनाउन आग्रह गरे । यस्तो भएको खण्डमा भोलि दुर्गम भेगका जनताले तेलको अनुहार देख्न नपाउने उनीहरुको तर्क छ ।

स्रोत: अन्य पत्रपत्रीका