वन ऐन मिच्दै व्यापक काठ निकासी

९ भाद्र,

वन ऐन २०४९ मा असार १ गतेदेखि असोज मसान्त सम्म वन पैदावर ओसारपसार र वनमा प्रवेश गर्न नपाइने प्रष्ट प्रावधान हुदाहुदै पनि तस्कर र केही वन कर्मचारीको मिलोमतोमा सुनसरीको चारकोशे झाडीबाट तीब्ररुपमा काठ तस्करी हुदै आएको छ । यही समयमा सुनसरीका भित्री गाविस तथा हाईवेले भेट्ने सामुदायिक वनभित्र रातारात काठ कटान हुने गरेको पाइएको छ ।

इटहरीको सरस्वती सामुदायिक वन उपभोक्ता समूहले पनि अनधिकृत रुपमा काठ कटान गरेको स्रोतले बताएको छ । समूहले जिल्ला वन कार्यालयको इजाजत विना नै काठ कटान गरेको बताइएको छ । सामुदायिक वनले काठ कटान गरिरहेको भन्दै स्थानीयवासीले जिल्ला वनमा उजुरीसमेत हालेको इलाका वन कार्यालयको जिम्मेवार स्रोतले जनायो ।

वन कर्मचारी, सामुदायिक वनका पदाधिकारी र केही स्थानीयवासीको मिलोमतोमा सुनसरीका विभिन्न क्षेत्रमा रातारात काठ कटान भइरहेको सामुदायिक वन उपभोक्ता समूहका केन्द्रीय सदस्य गणेश गुरागार्इं बताउछन् । असार १ गतेदेखि असोज मसान्त सम्म जङ्गल प्रवेश गर्न नपाइने र ढलेपढेको रुख पनि ल्याउन नपाइने गुरागाईंले बताए । तर, वन कर्मचारीहरुकै मिलोमतोमा काठ तस्करी भइरहेको जनाउदै उनले महेन्द्र नगर इलाका अन्तर्गत भरौल, नहडा, जनजागृति सामुदायिक वनमा उपभोक्ता समूहबाटै रातारात काठ तस्करी भइरहेको जन गुनासो आएको बताए ।

सुनसरीको शान्तिनगर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष केशव मगरले भने तस्करले जङ्गलमा काटेका केही रुख आफूहरुले निकासी गरेको जनाए । उनले आफूहरु वनमा गएर मुचुल्का तयार गरी जिल्ला वन जाने जनाएका छन् ।

यता, जिल्ला वन अधिकृत राजबहादुर राउतले दुई जना काठ तस्करलाई बाचाउन खोजेको खुलासा भएको छ । गत साउनमा पकली इलाका प्रहरी कार्यालयले ट्रयाक्टर सहित काठको गोलिया पक्राउ गरी जिल्ला वनमा बुझाए पनि तस्करीमा संलग्न सिगियाका हरिनारायण चौधरी र खुसीलाल ठाकुरको आर्थिक प्रलोभनमा परी राउत उनीहरु लाई छुटाउन लागिपरेको इलाका वन स्रोतले जनाएको छ । राउतले उनीहरुबाट १ लाख ५० हजार रुपैया लिएको र काठको अनुसन्धानमा खटिएका सहायक वन अधिकृत राजेन्द्र साहलाई समेत दवाब दिई तत्काल उक्त ट्रयाक्टर सहित तस्करलाई कागजपत्र मिलाएर छोड्न निर्देशन दिइसकेको स्रोतले जनाएको छ । अधिकृत राउत सँग मिलोमतो र आर्थिक अनियमितताको आरोपबारे बुझ्न खोज्दा उनले ‘कसले भन्यो तपाइंलाई, त्यस्तो छैन’ मात्र भन्दै बारम्बार फोन काटेर सम्पर्कमै आउन चाहेनन् ।

पूर्वाञ्चल क्षेत्रीय वन निर्देशनालयका प्रमुख मोहन कोइरालाले वन कर्मचारीहरु लामो समयसम्म एउटै स्थानमा बस्ने गर्दा पनि समस्या आउने गरेको बताए । २० औं वर्षदेखि कर्मचारीहरुले एकछत्र राज गरिरहेको बताउदै उनले आफूले मातहतका केही कर्मचारीलाई सरुवा गराउन बारम्बार दवाब दिए पनि साना कर्मचारीको समेत सरुवा हुन नसकेको लाचारी व्यक्त गरे । कर्मचारीहरु लामो समय एउटै कार्यालयमा बस्दा तस्करहरुसाग मिलोमतो हुने भनेर गुनासो आउने गरेकोले अनुसन्धानमा जोकोही कारवाहीको भागीदार हुनु पर्ने उनले बताए ।

यता, शनिबार तस्करी गरी इनरुवामा ल्याएको बहुमूल्य सखुवाका काचो गोलिया जिल्ला वनका कर्मचारीले पक्राउ गरेका छन् । तीनवटा साईकलमा गोलिया ल्याउने तीनजना महिला गोलिया छाडेर भागेको जिल्ला वन कार्यालयले जनाएको छ ।

स्रोत: अन्य पत्रपत्रीका