गोर्खाल्याण्डका नेतालाई नेपालले बुझाएको आरोप

९ भाद्र,

 छुट्टै गोर्खाल्याण्ड राज्यको माग गर्दै आन्दोलनरत् गोर्खा जनमुक्ति मोर्चाका शीर्ष नेता विनय तामाङलाई नेपाल प्रहरीले इलामबाट गिरफ्तार गरी दार्जीलिङ प्रहरीलाई बुझाएको भारतीय सञ्चार माध्यमको दाबी छ ।

भारतीय पत्रिका हिमालयन दर्पणले शुक्रबारको संस्करणमा लेखेको छ, ‘नेपाल पुलिसले नै दार्जीलिङ पुलिसलाई हस्तान्तरण गर्‍यो ।’ भारतीय सञ्चारमाध्यमले तामाङ नेपालबाट पक्राउ परेको दावी गरे पनि यसअघि उनलाई सिक्किमको रम्फूबाट पक्राउ गरिएको भारतीय प्रहरीले बताएको थियो ।

पक्राउ पर्ने सम्भावना भएपछि नेपालमा लुकेर बसेका भनिएको तामाङलाई दुई दिनअघि नै नेपाल प्रहरीले रोकेर राखेको र बिहीबार पक्राउ गरेर भारतीय प्रहरीलाई बुझाएको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ । त्यस्तै यसअघि पनि १६ जना महिला आन्दोलनकारीलाई पानी ट्याङ्की नजिकैबाट नेपाल प्रहरीको सहयोगमा पक्राउ गरिएको हिमालयन दर्पणमा उल्लेख गरिएको छ । इलाम जिल्ला प्रशासन कार्यालयले भने यस विषयमा कुनै जानकारी नआएको जनाएको छ ।

अनिश्चितकालीन दार्जीलिङ बन्दको आह्वान गरी बन्द गराउँदै हिँडेका सात सयभन्दा बढी आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका विनय तामाङसहितका नेता–कार्यकर्ताले जेल र हिरासतमै अनसन बसेर आन्दोलनलाई निरन्तरता दिएका छन् ।

आन्दोलनरत् मोर्चाले पनि कार्यकर्ता रिहा नभए सम्म प्रस्तावित गोर्खाल्याण्ड क्षेत्र बन्द गर्ने र पक्राउ परेका सबै कार्यकर्तालाई भोक हड्तालमा उतार्ने बताइरहेको छ ।