गाईजात्रा फिभर

भाद्र ७: हिजो काठमाडौं लगायत मुलुकका विभिन्न स्थानमा गाईजात्रा र्‍यालीहरू निकालिए । सधैंझैं गाईजात्रामा थुप्रै किसिमका दृश्य देखिए यसपटक पनि । मल्लकालमा जगतप्रकाश मल्लले पुत्र वियोगमा मन बहलाउन प्रारम्भ गरेको यो पर्व अहिले आएर विभिन्न कारणले महत्त्वपूर्ण बन्दै गएको छ। खेतीकिसानीको समय सकिएपछि मनाइने पर्व गाईजात्रामा हास्यकलाकारहरूले खुलेर समसामयिक परिस्थितिप्रति व्यंग्य कस्छन्। यो पर्वमा विभिन्न गेटअप र चरित्रमा पनि प्रस्तुत हुन पाइने छुट पनि छ। बुधबारदेखि नै नेपाल प्रज्ञा-प्रतिष्ठान तथा राष्ट्रिय सभागृहमा मुलुककै ख्यातिप्राप्त हास्यकलाकारहरूले दर्शकहरूलाई हँसाइरहेकै छन्।

गाईजात्राकै अवसर पारेर नेवारी समाजले गत वर्ष मृत्युवरण गरेकाहरूको आत्माको चिरशान्तिको कामना गर्दै आएको छ। यही मेसोमा समलिंगी, तेस्रोलिंगी, द्विलिंगी तथा अन्तर्लिंगीहरूको समूहले पनि विभिन्न भाव-भंगिमामा र्‍याली आयोजित गर्छ। ब्लु डायमन्ड सोसाइटी अर्थात् नीलहीरा समाजले सन् २००१ मा प्रारम्भ गरेको गाईजात्रे र्‍याली यसपटक पनि भव्य रूपमा सम्पन्न भयो। 

यसपटकको र्‍यालीमा भूमिका श्रेष्ठ नेतृत्व तहमा रहेर त्यसको व्यवस्थापनमा व्यस्त देखिन्थिन्। ब्लु डायमन्ड सोसाइटीकी बोर्ड मेम्बर भूमिका गत वर्ष भने धिमाल डे्रसमा सजिएर र्‍यालीमा सहभागी भएकी थिइन् । भूमिकाका अनुसार उनले विगतमा ड्रागक्विन (फिदर सहित एक्स्ट्रा डे्रसअप र गेटअप जसमा मनोरन्जनका निम्ति प्रतिष्ठित व्यक्तित्वको दुरुस्त नक्कल गरिन्छ) का रूपमा पनि सहभागिता जनाएकी थिइन्। 

गत वर्ष पर्यटन प्रवर्द्धनको नारा तय गरेको ब्लु डायमन्डले यसपटक भने 'म एक नागरिक मेरो एक भोट, हाम्रो प्रतिनिधित्वको खास महत्व छ' नारा तय गरेर र्‍यालीमा सहभागिता जनायो। जात्रामा ड्रागक्विन अर्थात् इन्टरनेसनल सेलिब्रेटीहरूको नक्कलमा थुप्रै देखिए । लेडी गागादेखि लिएर मर्लिन मुनरो, बियोन्से, जेनिफर हसन आदि सेलिब्रेटीझैं बनेर र्‍यालीमा सहभागी थिए तेस्रोलिंगीहरू । उनीहरू र्‍यालीमा कल्चरल, ड्रागक्विन, कमेडी, सेक्सी, सिम्पलजस्ता गेटअपमा देखा परे । 

नेपाली समाजको परम्परागत मान्यता र साँघुरो सोचका कारण सार्वजनिक हुन नसकेका समलिंगी तथा तेस्रोलिंगीहरू घरबाट निस्किएर आफ्नो स्वतन्त्रता उपभोग गर्न पाउन् भनेर ब्लु डायमन्डले गाईजात्रामा सहभागिता जनाउन थालेको थियो । 'यो दिन पुराना मात्र होइन, थुप्रै नयाँ साथीहरू पनि देखा पर्नुहुन्छ,'  भूमिकाले भनिन्- 'गाईजात्रा स्वतन्त्रता उपभोग गर्न पाउने दिन भएकाले हामीले यो दिनलाई आफ्ना निम्ति उपयोग गरेका हौं।' भूमिकाका अनुसार आफ्नो लैंगिक पहिचान तथा यौनिकता लुकाएर बस्नुपर्ने बाध्यता भएकाहरू यो र्‍यालीमा समलिंगी एवं तेस्रोलिंगीहरूका विभिन्न भावभंगिमा देखेर समाजमा खुलेर आउने हौसला-प्रेरणा प्राप्त गर्न सक्छन्। समलिंगी-तेस्रोलिंगीहरूले गाईजात्रालाई आफ्नो पक्षमा उपयुक्त वातावरण सिर्जना गर्ने दिनका रूपमा प्रयोग गर्दै आएका छन्। 

केटाले केटी बन्न पाउने, केटीले केटा बन्न पाउने यो अवसरमा कोही जोगी बनेका हुन्छन्, कोही राम, सीता, रावण त कोही कृष्ण-गोपिनी बनेर देखा पर्छन्। ब्लु डायमन्डले दिवंगत भएका आफ्ना समुदायका साथीहरूको आत्माको चिरशान्तिका लागि यो पर्व मनाउँदै आएको कुरा पनि बताएको छ। प्रारम्भिक वर्षहरूमा सानो जमातले मात्र उपस्थिति जनाउने यो जात्रामा पछिल्ला चार वर्ष यता विदेशी समलिंगी तथा तेस्रोलिंगीहरू पनि सहभागी हुन थालेका  छन्। 

स्रोत:साप्ताहिक

,