जोर–बिजोर प्रणाली नमाने दुई सय जरिवाना

काठमाडौं, ५ मंसिर । आसन्न सार्क सम्मेलनमा उपत्यकामा सवारीसाधनका लागि लागू गरिएको जोर–बिजोर प्रणाली नमान्नेलाई दुई सय रुपैयाँ जरिवाना हुने भएको छ । मन्त्रिपरिषद्को निर्णयमा ८ देखि १२ मंसिरसम्म ट्राफिक प्रहरीले जोर–बिजोर प्रणाली लागू गर्दै छ ।
यातायात व्यवस्था नियमावलीअनुसार नियम नमान्नेको सवारीसाधन नियन्त्रणमा लिई जरिवाना गरिने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । सार्क सम्मेलनमा उपत्यकाको ट्राफिक व्यवस्थापन सहज बनाउन जोर–बिजोर प्रणाली लागू गरिएको ट्राफिक महशाखाका डिआइजी केशव अधिकारीले बताए । ८, १० र १२ गते जोर नम्बर प्लेट भएका सवारीसाधन मात्र चल्नेछन् भने ९ र ११ मंसिरमा बिजोर नम्बर प्लेटका सवारीसाधन चलाउन पाइनेछ ।
यातायात व्यवस्था नियमावलीको दफा १६४ (ट) अनुसार जोर–बिजोर प्रणाली लागू गरिएको ट्राफिकले जनाएको छ । ‘८ गते नियम नमान्नेलाई जुन बाटो आएको छ, त्यतैतर्फ फकाइदिन्छौँ,’ डिआइजी अधिकारीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘९ गतेबाट सवारीसाधन नियन्त्रणमा लिई जरिवानासमेत गर्छौँ ।’ 

बिहे, पर्यटन र अत्यावश्यक सेवालाई छुट
जोर–बिजोर प्रणालीमा केही गाडीलाई भने छुट दिइएको छ । एम्बुलेन्स, अस्पतालका गाडी, कूटनीतिक नियोग, हरियो नम्बर प्लेट भएको पर्यटन व्यवसायका गाडी तथा बेउला–बेउली चढेको बिहेका गाडीलाई यो प्रणाली लागू नहुने डिआइजी केशव अधिकारीले बताए । प्रेसले समेत सुरक्षा पास तथा मिडिया ह्यान्डलिङ उपसमितिबाट पास लिनुपर्ने व्यवस्था गरिएको छ । 
त्यस्तै, दूध, तरकारी, ग्यास, पानी तथा पेट्रोलियम पदार्थजस्ता अत्यावश्यक सेवाका सवारीसाधनलाई भने समय मिलाएर चल्न दिइने ट्राफिक प्रहरीले जनाएको छ । यस्ता गाडीलाई बिहान ६ बजेभन्दा अगाडि र बेलुका ६ बजेपछि मात्र चल्न दिइने डिआइजी अधिकारीले बताए । 

,