मुख्य दल चुनावतिर, माओवादी बहिस्कारमा

९ भाद्र, काठमाडौं ,

गोलमेच सम्मेलन गर्ने सैद्धान्तिक सहमतिमा पुगिसकेका प्रमुख दल र नेकपा(माओवादीको नेतृत्वको ३३ दलीय मोर्चाबीच फेरि कुरा बिग्रिएको छ । उच्चस्तरीय राजनीतिक समिति र चुनाव विरोधी ३३ दलीय मोर्चाबीच शनिबार भएको वार्ता बिना निश्कर्ष टुंगियो ।

चुनावलाई असर गर्ने गरी कुनै वार्ता नगर्ने भन्दै राजनीतिक समितिले मोर्चाले राखेको ५ बुँदे माग अस्वीकार गरेपछि वार्ता विफल भएको हो ।

एमाले अध्यक्ष खनालले वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै गोलमेच सम्मेलनबारे ५ बुँदे माग समितिले अस्वीकार गरेको बताए । उनले अब गोलमेच सम्मेलन नहुने र तोकिएकै मितिमा जसरी पनि चुनाव हुने बताए ।

नेकपा(माओवादीका नेताहरुले पनि उच्चस्तरीय समितिसँग वार्ता प्रक्रिया टुंगिएको बताए । माओवादीले सरकार गठनबारे समीक्षा हुनुपर्ने, चुनाव अघि संविधानका अन्तर वस्तुमा गोलमेच सम्मेलनमै छलफल गर्नुपर्ने लगायतका माग राखेको थियो । प्रमुख दलले मोर्चाका मागलाई चुनाव सार्ने रणनीतिका रुपमा बुझेका छन् । चुनाव विरोधी दललाई निर्वाचनमा सहभागी गराउन भन्दै गोलमेच सम्मेलनका लागि तयार भएका प्रमुख दलले शनिबारको वार्तामा गोलमेच सम्मेलन सहित मोर्चाका मागलाई अस्वीकार गरेका हुन् ।

स्रोत: अन्य पत्रपत्रीका