बैंकबाट ठगेको ३३ करोड हुन्डीमार्फत भारत

काठमाडौं, २९ साउन । कृषि विकास बैंकबाट ठगी भएको करिब ३४ करोड रुपैयाँ हुन्डीमार्फत भारतमा पुर्‍याइएको छ । नेपालमा राख्दा प्रहरीले अनुसन्धान गर्ने भएकाले ठगेको रकम सुरक्षित बनाउन भारत लगिएको हो । 

बैंकका अधिकृत केदार गौतमको मिलेमतोमा नक्कली खाता खोली हुँदै नभएको पैसा आएको देखाएर पटक–पटक भुक्तानी दिई ३३ करोड ९९ लाख रुपैयाँ ठगी भएको थियो । गौतमसहित प्रहरीले ६ जनालाई पक्राउ गरी थुनामा राखेको छ । तर, ठगी भएको पैसा भने फेला परेको छैन । अनुसन्धानका क्रममा गौतमलाई पनि राजीव थापा नाम गरेका एक व्यक्तिले उक्त ठगीमा परिचालन गरेको खुलेको छ । 

ठगी गरेको करिब ३० करोड रुपैयाँ हुन्डीमार्फत थापाले भारत लगेका हुन् । गत वर्ष कृषि विकास बैंकको स्वयम्भू शाखामा १२ जनाको नाममा नक्कली खाता खोलेर ती खातामा बाहिरी जिल्लाबाट पैसा आएको देखाएर ठगी गरिएको थियो । पैसा नै नआए पनि कर्मचारीले नै सिस्टममा पैसा आएको देखाएर चेकमार्फत पैसा निकाली ठगी गरेका थिए । 

प्रहरीले बैंकका तत्कालीन शाखा प्रबन्धक भरत बानियाँ, अधिकृत केदार गौतम, बैंककी सहायक कर्मचारी गीता पन्त र खाताधनी वसन्त राईलाई पक्राउ गरेको हो । साथै, गौतका दुई श्रीमतीलाई समेत सिआइबीले अनुसन्धानका लागि हिरासतमा राखेको छ । अनुसन्धानका क्रममा ठगीको पैसा भारत पुगिसकेको खुलेको हो ।

‘सुरुमा गौतमले मात्र भन्दा विश्वास लागेको थिएन,’ अनुसन्धानमा आबद्ध सिआइबीका एक अधिकारीले भने, ‘राईलाई समेत पक्राउ गरी थप अनुसन्धान गर्दा पैसा हुन्डीमार्फत भारत पुगेको पुष्टि भएको छ ।’ राईलाई गत आइतबार सिआइबीले भारतबाटै पक्राउ गरी ल्याएको हो । 

गौतमलाई पनि प्रहरीले गत महिना भारतबाट पक्राउ गरी ल्याएको हो । दुवै श्रीमतीलाई लिएर उनी भारत भागेका थिए । सिआइबीका एसपी श्यामराज ज्ञवाली हालसम्म ६ जनालाई पक्राउ गरिएको र अनुसन्धान जारी नै रहेको बताउँछन् । गौतमलाई पक्राउ गरी अनुसन्धान गर्दा ठगी भएकोमध्ये ३० करोडभन्दा धेरै हुन्डीमार्फत भारतमा पुगिसकेको खुलेको हो । 

नेपालको बैंकमा राख्दा स्रोत खोल्नुपर्ने र घरमा राख्दा पनि प्रहरीले पत्ता लगाउने भएकाले ठगीका मुख्य योजनाकार थापाले पैसा भारत पुर्‍याएका हुन् । धेरै रकम गाडीमा लैजाँदा चेकजाँच हुने भएकाले उनीहरूले हुन्डीमार्फत पठाएका हुन् । हुन्डीको कारोबार गर्नेहरूलाई उक्त पैसा दिएर थापाले हुन्डीका भारतस्थित एजेन्टसँग उतै पैसा लिएका हुन् । 

अवैध पैसा ओसारपसारमा यसरी नै हुन्डीमार्फत कारोबार हुने गर्दछ । ठगी गर्नुभन्दा अगाडि नै उनीहरूले ३३ प्रतिशतका दरले पैसा बाँडचुड गर्ने सहमति गरेको खुलेको छ । मुख्य योजनाकार थापा, अधिकृत गौतम र खातावाला १२ जनाले ३३/३३ प्रतिशतका दरले बाँडेर लिने सहमति भएको थियो । तर, आफूहरूलाई केही रकम दिएर थापाले नै सबै पैसा लगेको गौतमले बताएका छन् । 

,