सेयर बजार ऐतिहासिक उचाइमा

काठमाडौँ: नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत कम्पनीहरुको औसत मूल्यले सात बर्षपछि नयाँ रेकर्ड बनाएको छ। आज नेप्से परिसूचकले १५ भदौ २०६५ मा बनेको ११७५ अंकको रेकर्ड तोडेको हो। आज नेप्से परिसूचक ११९१.९२ अंकमा पुग्यो।

१२ बजे बजार खुलेपछि क्रमश परिसूचक बढ्दै गएर १:३८ बजे नयाँ रेकर्ड बनेको हो। मंगलबार ११५९ अंकमा कारोबार बन्द भएको थियो। आज ११७५ अंक नाघेपछि पनि सेयर बजार बढ्ने क्रम रोकिएन।

साताको चौथो दिन सबै समूहका उपसूचक पनि हरियो रह्यो। सबैभन्दा धेरै होटल उपसूचक ८.६७ प्रतिशतले बढेको छ। त्यसपछि अन्य कम्पनी उपसूचक ५.४१ प्रतिशत,  बैंकिङ उपसूचक २.९६ प्रतिशत र बिमा उपसूचक २.१४ प्रतिशतले बृद्धि भएको छ। बुधबार सर्वाधिक कमाउनेको पहिलो सूचीमा हिमालयन जनरल इन्स्योरेन्स र दोस्रोमा ओरियन्टल होटल्स लिमिटेड छन्। यहि कारण यी उपसूचकमा उत्साहजनक बृद्धि भएका हुन्।

यो साताको सुरु देखिनै नेप्से परिसूचक क्रमिक रुपले उकालो लागेको थियो। नेपाल राष्ट्र बैंकले पुँजी बृद्धि प्रयोजनका लागि गत आवको नाफाबाट नगद लाभांशको साटो वोनस सेयर मात्र वितरण गर्न निर्देशन दिएको समाचार बुधबार प्रकाशित भए पश्चात लगानीकर्तामा थप उत्साह पलाएको हो।

धेरै कारोबार हुनेमा १० कम्पनी मध्ये नौ वटा बाणिज्य बैंक छन्। विकास बैंक र फाइनान्स उपसूचक पनि उत्साहजनक ढंगले बढेका छन्।
बुधबार कारोवार रकम पनि उच्च पुगेको छ। कुल ६६ करोड ७७ लाख नौ हजार रुपैयाँ बराबरको १२ लाख २३ हजार कित्ता सेयर खरिद बिक्री भएको नेप्सेले जनाएको छ।

कति बढ्ला बजार ?
सेयर बजारले नयाँ रेकर्ड बनाएसँगै भोलिका दिनमा नेप्सेको गति कहाँसम्म पुग्ने भन्ने चर्चा पनि सुरु भएको छ। सात बर्षअघि जुन कारणले सेयर बजार उच्च अंकमा पुगेको थियो अहिले पनि त्यही आधार देखिएको छ। त्यस बेला पनि बैंक तथा वित्तिय संस्थाको चुक्ता पुँजी बृद्धिकै कारण बजार उक्त अंकमा पुगेको थियो। तर त्यसपछि १५ दिनमै नेप्से परिसूचक दुई सय अंकले घटेको थियो। लगातार घटेर तीन सय अंकको नजिक आइ पुगेपछि नेप्से परिसूचक विस्तारै उकालो लागेको थियो।

चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाको चुक्ता पुँजी बृद्धिको निर्णय गरेको छ। तर, पुँजीबृद्धिको भरोसामा सेयर बजार बढ्दा भोलीका दिनमा लगानीकर्ताले प्रतिफल पाउने सम्भावना भने कम हुन्छ। अहिले नै मुल्य आम्दानी अनुपात फराकिलो बन्दै गएको छ। पुँजी बृद्धि जसरी नै बैंक तथा वित्तीय संस्थाको व्यवसाय बढ्ने सम्भावना कम हुन्छ।

त्यसो भएमा प्रति सेयर आम्दानी र लाभांश कम हुन जान्छ। बढ्दो सेयर बजारमा लगानीकर्ताले यसतर्फ ध्यान पुर्‍याए भोलिका दिन विगत जस्तो गिरावटको जोखिम रहन्न।

,