पर्यटन बोर्ड सिइओ नियुक्तिमा कानुनी अड्चन हट्यो

काठमाडौं, २७ भदौ । चार वर्षदेखि कार्यकारी प्रमुख (सिइओ) विनै सञ्चालनमा रहेको नेपाल पर्यटन बोर्डमा सिइओ नियुक्तिमा रहेको कानुनी अड्चन हटेको छ । पुनरावेदन अदालतले रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत अविलम्ब नियुक्ति गर्नु भनी विपक्षीका नाममा परमादेश जारी गरेपछि कानुनी अड्चन हटेको हो ।

पुनरावेदनको पछिल्लो परमादेशसँगै सिइओ नियुक्तिका लागि अदालतमा विचाराधीन मुद्दालाई आधार बनाएर पन्छिँदै आएका सरोकारवालामाथि दबाब बढेको छ । ०६८ मंसिरयता बोर्ड नेतृत्वविहीन अवस्थामा छ ।

बोर्डले सिइओ छनोटका लागि ०६८ देखि नै प्रक्रिया सुरु गरेको थियो । सोही क्रममा प्रारम्भिक छनोट प्रक्रिया पार गरेका १२ जना उम्मेदवारको सूची निकालिएको थियो । प्रक्रिया नटुंगिँदै बोर्डले ०७२ जेठ २७ मा सोही पदका लागि पुन: विज्ञापन आह्वान गरी सिइओ नियुक्ति प्रक्रिया अगाडि बढाएको थियो ।

पछिल्लो प्रक्रिया गैरकानुनी भएको र रद्द हुनुपर्ने माग गर्दै नेपाल पर्यटन बोर्ड कार्यकारी समितिलाई विपक्षी बनाई नारायणकृष्ण प्रधान, विष्णुबहादुर जिसी, रघु विष्ट र ज्ञानेन्द्ररत्न तुलाधर अदालत गएका थिए । उनीहरू पुरानो प्रक्रियाको प्रारम्भिक छनोटबाट उत्तीर्ण उम्मेदवार हुन् ।

नेपाल पर्यटन बोर्ड ऐन, २०५३ र नेपाल पर्यटन बोर्ड नियमावली, २०५४ मा पहिले आह्वान गरिएको विज्ञापन कानुनबमोजिम रद्द वा बदर नभएको अवस्थामा सोही पदका लागि पुन: विज्ञापन गर्न पाउने व्यवस्था नभएकाले पुन: विज्ञापन प्रक्रियालाई गैरकानुनी ठहर गर्दै पुनरावेदनले बदर गरिदिएको छ ।

पुनरावेदनको पछिल्लो आदेशपछि छनोट प्रक्रियाको प्रारम्भिक चरण पार भइसकेका १२ जना उम्मेदवारभित्रबाटै सिइओ नियुक्ति हुने सम्भावना बढेको छ । अदालतको आदेशलाई सम्मान गर्दै पुरानै प्रक्रियाबाट अगाडि बढ्नुको विकल्प नरहेको सिइओका एक उम्मेदवार विष्णुबहादुर जिसीले बताए ।

‘पुन: विज्ञापनलाई अदालतले बदर गरिसकेको अवस्थामा ऐन–नियमलाई आधार मानेर अगाडि जानुपर्छ,’ उनले भने, ‘सरोकारवालाबाट सोही अपेक्षा गरेका छौँ ।’ लामो समयदेखि बोर्डमा सिइओ नियुक्ति हुन नसक्दा पर्यटन क्षेत्र अस्तव्यस्त बनेको बोर्डका अर्का उम्मेदवार भूमिलाल लामाले बताए । ‘मुद्दामामिलालाई आधार मानेर सिइओ नियुक्तिमा आलटाल गर्ने काम भयो,’ उनले भने, ‘अब प्रक्रियामार्फत सिइओ नियुक्ति हुने सम्भावना बढेको छ ।’


पर्यटन बोर्डका सदस्य तथा सिइओ छनोट उपसमिति सदस्य घनेन्द्रबहादुर श्रेष्ठले बोर्ड कार्यकारी समितिको आगामी बैठकबाट सिइओ नियुक्ति सम्बन्धमा आधिकारिक निर्णय हुन सक्ने बताएका छन् । ‘बोर्डको कार्यकारी समितिको बैठक नबसेको अवस्थामा प्रक्रिया कसरी अगाडि बढ्छ भन्नेबारे केही भन्न सकिँदैन,’ उनले भने ।

उपसमितिमा श्रेष्ठसहित पर्यटन मन्त्रालयका सहसचिव मोहनकृष्ण सापकोटा र राजेन्द्र सापकोटा सदस्य छन् । श्रेष्ठ र सापकोटा बोर्डमा निजी क्षेत्रबाट प्रतिनिधित्व गरिरहेका सदस्य हुन् । बोर्डको अध्यक्षता गरिरहेका पर्यटनका वर्तमान सचिव दिनेशकुमार थपलिया सिइओ नियुक्ति गरी पर्यटन क्षेत्रको विकासका लागि सकारात्मक पाइएको उम्मेदवारले बताएका छन् ।