धराशयी बन्दै होटेल व्यवसाय
तेह्रथुम, २७ भदौ । बन्दहडतालका कारण तेह्रथुममा होटेल व्यवसाय धरासयी बन्दै गएको छ । बन्दका कारण मानिसको आवतजावत ठप्प भएपछि जिल्लामा ठूला लगानीमा सञ्चालन गरिएका होटेल प्रभावित भएका हुन् ।
बन्दका कारण यातायात नचल्दा पर्यटक आउन छाडेसँगै व्यवसाय धरापमा परेको व्यवसायीको गुनासो छ । जिल्लामा पछिल्लोपटक ठूला लगानीका होटेल थपिँदै गए पनि बन्दहडतालका कारण लगानी डुब्ने अवस्था आएको उनीहरूको भनाइ छ ।
वैशाखको भूकम्पले ठप्प बनेको पर्यटन केही तंग्रिन नपाउँदै सुरु भएको बन्दहडतालकै कारण २ करोडभन्दा बढी घाटा भएको होटेल व्यवसायी संघले जानकारी दिएको छ ।
विभिन्न समूहले फरक–फरक माग राखी सुरु गरेको बन्दहडताका कारण होटेल सञ्चालन गर्न नसक्ने अवस्था आएको संघका सचिव चेतन सुवेदीले बताए । ‘यो वर्ष मात्रै बन्दका कारण झन्डै ४ करोड रुपैयाँबराबरको नोक्सान होटेल व्यवसायीले सहनुपरेको छ,’ सचिव सुवेदीले भने, बन्दहडतालका कार्यक्रम सधैँ बन्द गरिनुपर्छ, अन्यथा व्यवसाय बन्द गरेर हिँड्नुको विकल्प व्यवसायीसँग छैन ।’
एक दिनको बन्दले सात दिनसम्म हानि पुग्ने हुँदा बन्द संस्कृति अन्त्य गरिनुपर्ने होटेल व्यवसायीको माग छ । ‘एक दिन होइन, दुई दिन होइन, सधैँ बन्द हुन्छ, व्यवसायी कसरी टिकाउने ?’ म्याङलुङको सानी रेस्टुरेन्ट सञ्चालक गंगा राईले भनिन् । बन्दको दिन अरू दिनको तुलनामा व्यापारमा ७५ प्रतिशत गिरावट हुने गरेको उनले बताइन् ।