“नरक”मा परिणत हुँदै सिरिया
राष्ट्रसंघ । अझै लाखौँ सिरियाली सुरक्षित स्थानको खोजीमा युरोप पुग्ने राष्ट्रसंघले अनुमान गरेको छ । आधिकारिक तथ्यांकअनुसार यो वर्ष भूमध्यसागर पार गर्ने शरणार्थी र आप्रवासीको संख्या चार लाख ३० हजार नाघिसकेको छ ।
युनिसेफको मध्यपूर्व तथा उत्तर अफ्रिका निर्देशक पिटर सलामाले रक्तपातपूर्ण सिरिया युद्ध अन्त्य नभए अझै दसौँ लाख सिरियाली युरोप पस्ने बताएका हुन् । ‘सिरिया छाड्ने शरणार्थी दसौँ लाख पुग्न सक्छन् । र, उनीहरूको गन्तव्य युरोपेली युनियन (ईयु) र अन्य मुलुक हुनेछ,’ उनले भने ।
जेनेभामा रहेको इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन (आइओएम)को तथ्यांकअनुसार यो वर्ष चार लाख ३२ हजार सात सय ६१ जना शरणार्थी र आप्रवासीले भूमध्यसागर तरेका छन्, जुन आप्रवासी प्रसारको नयाँ रेकर्ड हो । उनीहरूमध्ये धेरैले रबरका डुंगामा जोखिमपूर्ण यात्रा गरेका थिए । समुद्रमा डुबेर यो वर्ष दुई हजार सात सय ५० जनाको मृत्यु भइसकेको छ । गत वर्ष एक लाख ९७ हजार नौ सय ४० ले जोखिमपूर्ण समुद्री यात्रा गरेका थिए ।
शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्च परिषद् (युनएनएचसिआर)का अनुसार यो वर्ष भूमध्य सागर पार गर्नेमा आधाभन्दा बढी सिरियाको गृहयुद्धबाट भागेर आएका हुन् । साढे चार वर्षअघि सुरु भएको गृहयुद्धमा हालसम्म दुई लाख ४० हजार सिरियालीले ज्यान गुमाइसकेका छन् । सलामाले सिरिया ‘जीवित नरक’मा परिणत भएको बताए ।
तर, युरोपेली युनियनको शरणमा आउने सिरियालीको अनुमानित संख्यालाई लिएर राष्ट्रसंघका विज्ञहरू आफैँ विभाजित छन् । ‘यो संख्या १० लाखभन्दा कम हुन्छ । हामीले अनुमानलाई अतिरञ्जित गर्नुहुँदैन,’ युएनएचसिआर प्रवक्ता विलियम स्पिन्डलरले भने ।
हालसम्म ८० लाख सिरियाली आन्तरिक रूपमा विस्थापित भएका छन् भने ४० लाख टर्की, लेबनान र जोर्डनलगायतका छिमेकी मुलुकमा शरणार्थीका रूपमा बसोवास गरिरहेका छन् । दुई लाख ५० हजार सिरियाली सुरक्षित स्थानको खोजीमा इराक पसेका छन् ।
युएनएचसिआरले आप्रवासी संकटको सामना गरिरहेका मुलुकलाई सहयोग गर्ने प्रयास गरिरहेको छ । हंगेरीमा करिब तीन सय परिवारका लागि उसले भर्खरै ‘प्रिफेब्रिकेटेड’ घरहरू पठाएको छ । ५० वटा ‘प्रिफ्याब’ घर ग्रिक टापु लेस्बोसमा पुर्याइएका छन् भने तीन सयवटा कोस र ५० वटा मेसेडोनियामा पठाइएका छन् ।
यसैबीच, अस्ट्रियाले सुरक्षा जोखिम देखाउँदै भियना र हंगेरी जोड्ने राजमार्गलाई आंशिक रूपमा बन्द गरेको छ । आप्रवासीको संख्या बढेपछि हंगेरी र अस्ट्रिया जोड्ने रेलमार्ग सप्ताहन्तमा बन्द गरिएको छ । हंगेरीले अर्को महिनाको सुरुबाट सर्बियासँगको सीमामा काँडेतार राख्ने योजना बनाएको छ । उसले आप्रवासी नियमलाई कठोर रूपमा लागू गर्ने पनि जनाएको छ ।
तर, बेलायतले भने थप एक हजार सिरियालीलाई आश्रय दिने भएको छ । बेलायती प्रधानमन्त्री डेबिड क्यामरुनले सन् २०२० सम्ममा बेलायतले थप २० हजार सिरियाली शरणार्थीलाई आश्रय दिने बताए । तर, क्रिसमसअघि एक हजारभन्दा कमलाई मात्र नयाँ घर उपलब्ध गराउने सरकारी स्रोतले जनाएको छ ।