प्रमाणिकरण भयो नेपालको संविधान
काठमाडौं , १ असोज। संविधानसभा अध्यक्ष सुवास नेम्वाङले नेपालको संविधान २०७२ मा हस्ताक्षर सहित प्रमाणीकरण गरेका छन् । संविधानसभाबाट पारित भएको संविधानलाई संविधानसभा अध्यक्षले संविधानसभाको ल्होत्से हलमा आयोजित एक समारोहमा अध्यक्ष नेम्वाङले प्रमाणिकरण गरेका हुन् ।
प्रमाणीकरण समारोहमा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष प्रचण्डसहित पूर्व प्रधानमन्त्रीहरु सहभागी थिए । अध्यक्ष नेम्वाङले संविधान प्रमाणीकरण गरेर देखाएपछि निकैबेर सम्म ल्होत्से हलमा ताली बजेको थियो । त्यसपछि अध्यक्ष नेम्वाङ सहित शीर्ष नेता र सभासदहरुले एक आपसमा बधाई साटासाट गरेका थिए । संविधानसभाले संविधान प्रमाणीकरण गरेपछि अब प्रकाशन हुनेछ ।
प्रमाणीकरण गरिएका पाँच प्रति नेपाली कागजमा छापिएका संविधानमध्ये राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, कानुन मन्त्रालय र संविधानसभा सचिवालयको अभिलेखमा राखिनेछ । अब संविधान जारी हुने बाहेक नेपालको संविधान निर्माणको सबै औपचारिक काम सकिएको छ । आइतबार नेपालको संविधान २०७२ सार्बजनिक हुनेछ ।