दसैँमा उपत्यकाभित्र मासु अभाव हुने

काठमाडौं/यसपालिको दसैँमा उपत्यकाभित्र दसैँमा मासु अभावहुने भएको छ । तराईमा जारी आन्दोलन र भारतले गरेको अघोषित नाकाबन्दीका कारण खसी, बोका, राँगा, हाँस, कुखुरालगायत चौपाया तथा पशुपक्षीको ढुवानी सहज रूपमा उपत्यकामा हुन नसक्दा अभाव हुने भएको हो ।

चौपाया तथा पशुपक्षी ढुवानीमा पेट्रोलियम पदार्थ अभाव हुँदा उपत्यकावासीले महँगो मूल्यमा आफूले रोजेको मासु खरिद गर्नुपर्ने बाध्यता देखिँदै छ । राँगाको मासुबाहेक उपत्यकामा कुल मासु उत्पादनको ६० प्रतिशत खपत हुन्छ । चौपाया खरिद बिक्री संघका अध्यक्ष जीवन खतिवडाका अनुसार गत वर्ष ४० हजार खसीबोका र २ हजार ५ सय भेडाच्यांग्रा उपत्यकाभित्र खपत भएका थिए ।

राजधानी नजिकका किसानले खसीबोका, राँगा, हाँस, कुखुरा उपत्यकामा ल्याई बिक्री गर्ने तथ्यांक संकलन हुने नगरेको पशुपक्षी बजार प्रवद्र्धन निर्देशनालयका वरिष्ठ पशुविकास अधिकृतको भनाइ छ ।

नेपालमा सबैभन्दा धेरै राँगाको मासु खपत हुन्छ । खपतको ६३ प्रतिशत अर्थात् १ लाख ८५ हजार ९ सय ५५ मेट्रिकटन राँगाको मासुबाट मम, छोयला, सेकुवा, भुटन, कचिलालगायत परिकार बनाउने प्रचलन छ । तर, दसैँमा राँगाको भन्दा खसीबोका बढी खपत हुने गरेको निर्देशनालयले जनाएको छ ।

वरिष्ठ पशु विकास अधिकृत डा. अर्याल भन्छन्, ‘राँगाबाहेक खसीबोकाको मासु गत वर्ष १ लाख ७५ हजार १ सय ३२ मेट्रिकटन उत्पादन भएको थियो, यो उत्पादनको ४० प्रतिशत दसैँमा मात्र खपत भएको थियो । यसपटक खसीबोकाको मासु उत्पादन घटेको छ ।’

वैशाख १२ को भूकम्प र त्यसपछिका पराकम्पनले लाखौँ पशुपक्षीको मृत्यु भएकाले पनिमासु उत्पादनमा प्रभाव परेको छ । मानिसले पशुलाई गोठ बनाउनभन्दा पहिले बस्ने वास बनाउनेतर्फ लागेकाले पशुपालन वृद्धिहुन नसक्दा उत्पादनमा असर परेको हो ।

त्यस्तै, नाकाबन्दीले पेट्रोलियम अभाव भएसँगै सहज रूपमा दसैँमा घर जान नसक्ने स्थिति देखिएकाले पनि यसपटक राजधानीमा खसीबोका अभाव हुने अवस्था रहेको अर्यालको भनाइ छ । सोही कारण मासुको माग गत वर्षभन्दा दोब्बर हुने अनुमान उनले गरे । राजधानीमा मात्र करिब ४० लाख मानिसको बसोवास छ ।

गत वर्षको दसैँमा राजधानीबाट करिब २५ लाख मानिस बाहिरिएको उपत्यका ट्राफिक प्रहरीले जनाएको छ । तर, अहिले करिब ५–८ लाखसम्म दसैँ मनाउनका लागि बाहिरिने अनुमान प्रहरीको छ । व्यापारीले उपत्यकामा तराई मधेसका जिल्लालगायत सल्यान, रुकुम, दाङ, बाँके, बर्दिया, सिन्धुली, रामेछापबाट खसीबोका तथा मनाङ, मुस्ताङ, रसुवालगायतका हिमाली जिल्ला तथा तिब्बतबाट भेडाच्यांग्रा झिकाउँथे ।

वर्षेपिच्छे नेपालीको मासु खाने बानीमा बढोत्तरी भएपनि उत्पादमा मागअनुसारको वृद्धि हुन नसकेको पशु सेवा विभागका सूचना अधिकारी भीमनाथ शर्माले बताए ।

प्राचीनकालदेखि नै चौपायालाई धार्मिक आवश्यकता एवं मासुका लागिपालिने चलन चलिआएको छ । कृषिक्षेत्रको कुल गार्हस्थ उत्पादनमा२६ प्रतिशत योगदान रहेको पशुपालन क्षेत्रले कुल घरपरिवारको ६० प्रतिशत जनसंख्यालाई रोजगारी दिएको छ ।

नेपालमा राँगा, थारा भैँसी, भेडाच्यांग्रा खसीबोका, बंगुर, कुखुरा, हाँसको मासु खाने प्रचलन छ । चौपाया तथा पशुपक्षीबाट कुल २ लाख ९५ हजार १ सय ६७ मेट्रिकटन मासु गत वर्ष उत्पादन भएको कृषि विकास मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

बढ्दो मागलाई सहज बनाउन शुक्रबारदेखि नेपाल खाद्य संस्थानले करिब ७ सय भेडाच्यांग्रा र १ सय ४० वटा खसीबोका थापाथली डिपोबाट बिक्रीवितरण गरेपनि अपुग हुने स्थिति छ । डा. अर्यालका अनुसार नेपाली उत्पादनले नेपालको माग धान्न झन्डै ७० प्रतिशत उत्पादन बढाउनुपर्छ । मासु उत्पादनमा पछिल्लोपटक आस्ट्रिच व्यवसाय सुरुभएपनि सर्वसाधारणको सहज पहुँच छैन ।

१६ हजार भेडाच्यांग्रा निर्यात
दसैँलाई लक्षित गरी हिमाली जिल्ला मुस्ताङबाट १६ हजार भेडाच्यांग्रा निर्यात भएको छ । असोज २० देखि शुक्रबारसम्मको अवधिमा म्याग्दी, पर्वत, कास्की, बागलुङ र काठमाडौंका व्यापारीले भेडाच्यांग्रा खरिद गरी बजारमा पुर्‍याएका हुन् ।

करिब एक हजार भेडाच्यांग्रा खाद्य संस्थानले खरिद गरेर राजधानी लगेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । लोमान्थाङ, छोसेर, छोन्हुप, सुर्खाङ, कागबेनी, झोङ र घमी गाविसका किसानले पालेका भेडाच्यांग्रा निर्यात भएको पशु सेवा कार्यालयका निमित्त कार्यालय प्रमुख फलेन्द्र थकालीले जानकारी दिए ।

,