उपचार नपाएर छटपटीएका नरबहादुर
देशमा पहुँचवालालाई औषधोपचारका लागि राज्यकोष, यता गरीब भने उपचार नपाएर छटपटी
वीरेन्द्रनगर स्थित महिला प्रशिक्षण केन्द्रको अस्थायी शिविरमा जीवन बिताइरहेका नरबहादुर यो तस्बिरलाई ह्दयविदारक भन्दा फरक नपर्ला । उनको बायाँ खुट्टा काटिएको छ । दायाँ पनि सुक्दै गएको छ । पत्नी सीता र छोरा प्रकाशको स्याहार सुसार भित्र रहेका नरबहादुर ओछ्यानबाट उठ्न सक्दैनन्, दिसापिसाब त्यहीँ गराउनुपर्छ । त्रिपालको कष्टकर बसाइ । मजदुरी नगरे छाक टर्दैन । त्यसमाथि थलिएका पतिको स्याहार गर्नुपर्दा सीतालाई कम्ती सकस छैन ।
०७१ साउन २८ र २९ गते इत्राम खोलामा आएको बाढीले वीरेन्द्रनगर ११ स्थित उनीहरूको ११ धुर जग्गा र घर बगाए पछी को कस्तकर जीवन बितौदै आएका यी बाढीपीडित रोका परिवारसँग पैसाका नाउँमा एक रुपैयाँ पनि छैन । त्यसयता परिवार विस्थापित जीवन बिताउन बाध्य छ । सरकारले बाढी विस्थापितलाई पुन:स्थापनाका लागि दिएको ५० हजार रुपैयाँ नरबहादुरले पनि पाए । त्यही पैसा लिएर निको हुने आसमा उपचार गर्न निस्किए । अस्पताल पुगेको केही दिनमै त्यो रकम पनि सकिए पछी अन्त्यमा, खर्च नपुगेर अस्पतालबाट फर्किनुको अलवा अन्त केही थिएन ।
सरकारले पहुँचवालालाई औषधोपचारका नाममा राज्यकोषबाट लाखौं बाँडिरहेको छ । तर ५१ वर्षीय नरबहादुर उपचार नपाएर छट्पटिइरहेका छन् । ‘म पनि नागरिक हुँ । बाढीले सारा बगायो । सरकारले एउटा घडेरी आउन पैसा दिएन । अहिले यतिसारो बिमारले थलिएको छु, सरकारले के हेथ्र्यो र ?’ उनले भने । ६ वर्षअघि भारत, मुम्बईमा काम गर्थे नरबहादुर । त्यही बेला फलामे गेट ढलेर बायाँ खुट्टाको बुढी औंला थिचियो । त्यतिबेला उनले टिटी रोगविरुद्ध सुई लगाएनन् । ‘पोहोरसाल त्यही ठाउँमा घाउ एक्कासी बल्झियो । प्यारालाइसिस भयो । ४५ दिन कोहलपुर (मेडिकल कलेज) मा उपचार गराएँ । प्यारालाइसिस पनि निको भयो,’ उनले बेलिविस्तार लगाए, ‘तर, वैशाखबाट झन् ठूलो विपत्ति आइलाग्यो ।’
गत वैशाखमा उनी मजदुरी गर्न मुम्बई पुगेका थिए । बुढीऔंलामा बल्झेको घाउ निको नहुने भएपछि भदौमा त्यहाँको साइन हस्पिटलमा उनको खुट्टा नै काटियो । मुम्बई स्थित नरबहादुरको उपचार गर्न त्यही काम गर्ने नेपालीहरुले सहयोग गरेको थियो । ‘एउटा खुट्टा नभए पनि बैसाखी टेकेर हिँड्नुहोला, निको भयो भनेर खुसी भयौं,’ सीताले पीडा पोखिन्, ‘घर आइसकेपछि अर्को भाग नचल्ने भो ।’ अहिले नरबहादुरको शरीरको दायाँ भाग चल्दैन ।
दिउँसो छोरा प्रकाशलाई बुबासँग राखेर काम खोज्दै बजारतिर धाउँछिन् सीता । कमाएको पैसाले चामल, तरकारी, नुन तेल लिएर टहरामा फर्कन्छिन् । ‘गाडीभाडा छैन । अस्पतालसम्म कसरी पुर्याउने ?,’ उनले दर्द सुनाइन्, ‘बचेको एउटा खुट्टा सुकिसक्यो । डाक्टरले यही खुट्टा पनि काट्नुपर्यो भन्लान् ।’ ऋण/सापटी माग्ने हैसियत नहुँदा शिविरमै राख्नुपरेको सीताले बताइन् । बाबु यस्तो अवस्थामा पुगेपछि प्रकाशले कक्षा ८ को पढाइ छाडेका छन् ।
स्रोत: पत्रपत्रीका