ओमानमा गणतन्त्र दिवस मनाईयो ।

अनूकुल प्रकाश , जेठ १९

नेपाली राजदुतावास ओमानको आयोजनामा ओमानमा रहेका विभिन्न संघसंस्था तथा सर्वसाधारण नेपालीहरुको गौरवपुर्ण उपस्थितिमा नेपाली राष्ट्रिय गान बजाएर नेपाली राष्ट्रिय झन्डाको छत्रछायामा ज्ञात अज्ञात सहिदहरु प्रती सम्मान गर्दै नवनियुक्त राजदूत महामहिम सर्मिला पराजुली ढकाल ज्यू लाई स्वागत गर्दै गणतन्त्र दिवस मनाईयो ।

समारोहमा एन.आर.एन मध्यपुर्वका संयोजक डि बि क्षेत्री र एन.आर.एन ओमानका अध्यक्ष  दीपक श्रेष्ठले नवनियुक्त राजदूतलाई स्वागत र गणतन्त्र दिवसको उपलक्ष्यमा शुभकामना मन्तव्य राख्नुभयो । क्षेत्रीले बिस्तारै जरा हाल्दै गरेको गणतन्त्र र यसको संरक्षणको लागि एन.आर.एनको तर्फबाट महत्वपूर्ण भुमिका निभाउने प्रतिबद्धता जाहेर गर्नुभयो । यसका साथै ओमानमा संगठित संस्थाहरुका प्रतिनिधिहरुले आ-आफ्नो मन्तव्य राख्नु भयो । उहाँहरुले आफ्नो मन्तव्यमा ठूलो संघर्षले प्राप्त गरेको उपलब्धिको रुपमा आएको नेपालको संविधानको कार्यान्वयनको आवश्यकता र औचित्यको बारेमा प्रष्ट्याउनुका साथै नेपाली मजदुरको शोषण,ठगी र नेपाली चेलीको अवैध प्रवेशका विरुद्दमा महामहिमले कडा रुपमा कदम चाल्नुपर्ने कुरामा जोड दिनुभयो ।


कार्यक्रममा वक्ताहरुले नेपालमा गणतन्त्र स्थापनमा जत्तिको संघर्ष गर्नुपर्यो ओमानमा राजदूतावास स्थापना गर्नको लागि पनि मजदुरहरुले त्यतिकै संघर्ष गर्नुपरेको कुरा राख्नुभयो र यो संघर्षले स्थापित राजदूतावासले मजदुरको हकहितका लागि काम गर्न कसैको डर,धम्की र प्रलोभनमा नपर्न महामहिमलाई    ध्यानाकर्षण गराउनुभयो ।

कार्यक्रममा गजलकार सुशील पुन विरहीले प्रवासी नेपाली साहित्यकारहरुको प्रतिनिधिको रुपमा मन्तव्य दिनुहुँदै देशप्रेम झल्कने गजल सुनाएर समारोहलाई थप उत्साह प्रदान गर्नुभयो ।


कार्यक्रममा महामहिमले ओमानको लागि नेपालको प्रथम राजदूतको हैसियतमा नेपालको गणतन्त्र दिवस मनाउँन पाउँदा आफू अत्यन्त हर्षित भएको कुरा उल्लेख गर्नुभयो । उहाँले अवको आवश्यकता भनेको आर्थिक तथा सामाजिक बिकास एक अपरिहार्य कुरा भएको कुरा जनाकारी गराउनुभयो । नेपालको आर्थिक बिकासलाई बैदेशिक रोजगार   ब्यबस्थापन महत्वपूर्ण कार्य रहेको कुरा बताउनुभयो । आफ्नो कार्यकालमा ओमानमा रहेका नेपालीहरुको समस्यालाई आफुले आफ्नै समस्या ठानेर भूमिका निवाह गर्ने प्रतिबद्धता जाहेर गर्दै कार्यक्रमको समाप्त भएको घोषणा गर्नुभयो ।

,