गत साता मलेसियामा नेपालीमाथि भएको आक्रमणमा नेपालीको मृत्यु नभएको नेपाली दूतावासद्वारा पुष्टि
चैत १७ । मलेसियाको जोहोरबारुस्थित पासिर गुडांङमा नेपालीमाथि भएको आक्रमणमा नेपालीको मृत्यु नभएको यहाँस्थित नेपाली दूतावासले पुष्टि गरेको छ । शुक्रबार अबेर एक विज्ञप्ती जारी गरी दूतावासले सो घटना भएको होस्टलमा बस्ने सम्पूर्ण नेपालीहरुको विवरण साथै उनीहरुको पहिचान गरिएको र सबैजना सुरक्षित रहेको पाइएको जनाएको हो । दुतावासले घटनास्थलको पाँच दिने स्थलगत अध्ययनपछि सबै नेपाली सुरक्षित रहेको निष्कर्ष निकालेको हो ।
विज्ञप्तीमा उक्त होस्टलमा इको वयल्स, क्रियटिभ ब्रास, इस्काटेक मेकाट्रोनिक्स, एफ जेड सिनर्जी र एएसएम टेक्नोलोजी मलेसिया गरि पाँच कम्पनीमा गरि जम्मा कार्यरत १ सय २० नेपाली बस्दै आएको र उनीहरु सबै सुरक्षित रहेको जनाइएको छ । घटनामा एएसएम टेक्नोलोजी, एफजेड सिनर्जी, स्काटेक मेकाट्रोनिक्स कम्पनीमा कार्यरत केही कामदार घाइते भएका थिए । उनीहरुमध्ये त्यहाँको सुल्तान स्माइल अस्पतालमा उपचारपछि गम्भिर घाइते राजु विश्वकर्मा बुधबार नै डिस्चार्ज भएका छन् भने रामलाल साह उपचाररत छन् ।
विश्वकर्मा र साह क्रमशः एफजेड सिनर्जी र स्काटेक मेकाट्रोनिक्समा कार्यरत रहेको पाइएको छ । यी दुईबाहेक अन्य केही नेपाली सामान्य घाइते भएका दुतावासले उल्लेख गरेको छ । दुतावासले घटना कसरी भएको थियो भन्ने केही खुलाएको छैन । घटना कसरी भयो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेकाले केही उल्लेख नगरिएको कार्यबहाक राजदुत लेखनाथ भट्टराईले जानकार दिनुभयो । तर जाहोरस्थित प्रहरी अधिकारीलाई उदृत गर्दै स्थानीय अनलाइनले सार्वजनिक स्थानमा मादक पदार्थ सेवन गरि होहल्ला तथा झगडा गर्दा सो घटनाशुरु भएको र कोही पनि नेपालीको मृत्यु नभएको उल्लेख गरेको छ ।
दुतावासका अनुसार आइतबार बेलुकाको सो घटनापछि एएसएम टेक्नोलोजी र क्रियटिभ ब्रास नामक कम्पनीले त्यहाँबाट आफ्ना सबै कामदार अन्यत्र सारिसकेका र उनीहरु सबै सुरक्षित रहेका छन् । घटनामा सम्पर्कबिहीन भएका भनिएका एएसएम टेक्नोलोजीमा कार्यरत एक युवा हाल सम्पर्कमा आइसकेका र उनी सकुशल रहेका जनाइएको छ । सो घटनामा ९ नेपालीलाई प्रहरीले सोधपुछका लागि नियन्त्रण लिएको छ । दुतावासले आइतबार भएको सो घटनाबारे ठोस अध्ययन गरि सत्यतथ्य सार्वजनिक गर्न घटना भएको भोलीपल्टै घट्नास्थलमा तीन कर्मचारी सम्मिलित एक टोली खटाएको थियो । टोलीले त्यहाँ घाइते नेपाली, प्रत्यक्षदर्शी, कम्पनी एवं प्रहरी प्रशासन लगायतका विभिन्न पक्षसित घटनाबारे बुझेको थियो ।
सो क्रममा सो होस्टलमा रहँदै आएका नेपालीको संख्या र उनीहरुले काम गर्ने कम्पनी र पहिचानपछि उक्त विवरणसहित शुक्रबार विज्ञप्ती सार्वजनिक गरेको हो । यस घटनाबारे मलेसियाली सरकारको तर्फबाट पनि अनुसन्धान भइरहेकोसमेत विज्ञप्तीमा जनाइएको छ । दुतावास टोलीले होस्टल सार्न समेत कम्पनी पक्षलाई आग्रहसमेत गरेको छ । त्यहाँ बस्ने नेपालीका अनुसार विभिन्न ३ वटा कम्पनीले आफ्ना कामदार त्यहाँबाट सारिसकेका छन् । होस्टलपरिसरमा नेपाली अझै त्रसित भएकाले सुरक्षा व्यवस्था मिलाइएको जनाइएको छ ।


