ग्यास व्यवसायीलाई कमिशन बढाउन नसक्ने आयल निगम


काठमाडौ , १५ जेठ

नेपाल आयल निगमले ग्यास ढुवानीको खर्चबाहेक अन्य शीर्षकमा कमिशन बढाउन नसकिने बताएको छ । राजधानीमा भएको कार्यक्रममा निगमका निमित्त कार्यकारी निर्देशक सुरेश अग्रवालले ग्यास उद्योगीले पाइरहेको कमिशन पर्याप्त भएको बताउनुभयो । 
उहाँले निगममा अहिलेसम्म कुनैपनि ग्यास व्यवसायीले व्यक्तिगत रुपमा कमिशन कम भएको गुनासो नगरेको भन्दै ग्यास उद्योग संघले गरेको आन्दोलनको कुनै अर्थ नभएको बताउनुभयो । उहाँले आन्दोलनले गर्दा २ रंगको सिलिण्डर कार्यान्वयनमा समेत समस्या आएको बताउनुभयो । कार्यक्रममा नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरेले भने भारत र नेपालका विभिन्न ठाउँमा अप्रत्यक्ष रुपमा पैसा बुझाउनुपरेका कारण आफूहरु घाटामा रहेको बताउनुभयो । 
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले निगमले अहिले ग्यासमा घाटाको कारोवार गरिरहेकाले कमिशन बढाउन नहुनेमा जोड दिनुभयो ।

स्रोत : अनलाइन खबर