कामका लागि विदेश जानेलाई कडाइ - धेरै कर्मचारीलाई पक्राउ


काठमाडौं, भदौ ८: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ कर्मचारीलाई पक्राउ परेपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले वैदेशिक रोजगारका लागि विदेश जानेहरुलाई कडाई गरेको छ । अधिकांश वैदेशिक रोजगार विभागको अन्तिम स्वीकृती शाखामा कार्यरत, यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको विभाग मातहतको लेबर डेक्सका १२ कर्मचारीलाई पनि अख्तियारले हिरासतमा लिएको छ ।

श्रमले दिएको स्वीकृति अनुसार कम्पनी र कामको विवरण नमिलेका तथा भाषा नबुझिएका ९० जनालाई अध्यागमनले रोकेको छ । ‘पहिले हामीले श्रमले स्वीकृत दिएपछि सरासर पठाउने गरेका थियौं’ एक कर्मचारीले भने-’तर, अख्तियारले १८ जनालाई पक्राउ परेपछि कम्पनी, काम नमिलेका र भाषा नबुझिएकालाई रोकेका छौं ।’ उनका अनुसार उर्दु लगायतका भाषा नबुझिएकाहरुलाई आधारिक स्थानबाट भाषा रुपान्तर गरेर ल्याउन पठाइएको छ । 

४ म्यानपावर व्यवसायी पक्राउ: यसैबीच गैरकानूनी रूपमा कामदार पठाएको आरोपमा अख्तियारले  ३ म्यानपावर कम्पनीका ४ सञ्चालकलाई पक्राउ गरेको छ । एडभान्स रिक्रुटमेन्टका सञ्चालकद्वय चित्रगुप्ता साँवा र हर्कबहादुर लिम्बु, सान्नाका सञ्चालक मोहम्मद मुस्ताक मियाँ र प्रोग्रेसिभ प्लेसमेन्टका श्यामप्रसाद गुप्तालाई हिरासतमा लिई अनुसन्धान थालिएको अख्तियारले जनाएको छ । उनीहरुमाथि वैदेशिक रोजगारीमा जानेहरुको अन्तिम स्वीकृतिका लागि रोजगार विभागमा झुटा भिसा समेतका कागजात पेश गरेको र विभागका कर्मचारी सँग आर्थिक कारोबार गरी अन्तिम स्वीकृति लिएको आरोप लागेको छ । म्यानपावर कम्पनीसँग गैरकानुनी लाभ लिई नक्कली कागजातका आधारमा ७७ जना नेपालीलाई वैदेशिक रोजगारीमा पठाएको आरोपमा अख्तियारले वैदेशिक रोजगार र अध्यागमनका ३५ कर्मचारीलाई शुक्रबार मात्र पक्राउ गरेको थियो ।

विभागका महानिर्देशक केसी अख्तियारमा,कर्मचारीहरु हिरासतमा हुँदा काम ठप्प: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागमा आँखा लगाएपछि विभागमा हुने गरेको आर्थिक चलखेल छताछुल्ल भएको छ । तीन वटा मेनपावर कम्पनीको फायल विभागबाटै गायब भएको विषयमा अख्तियारले छानविन गरेपछि महानिर्देशक विनोद केसी समेत छानविनमा तानिएका छन् ।

विभागमा बुझाइएको सन्ना इन्टरनेशनल, प्रोगेसिभ प्लेसमेण्ट र एडभान्स रिक्रुटमेण्टका ७७ जना कामदारको फाइल विभागबाटै गायब भएपछि उब्जिएको अनियमिततामा मुछिएका महानिर्देशक विनोद केसी आवश्यक कागजातसहित अख्तियारमा उपस्थित हुने विन्ती गरेर उम्केको २ दिन पछि पुन:शुक्रवार अख्तियार कार्यालय हाजिर भएका हुन् । उनले गायव फायलका कागजपत्र आज पनि  पेश गरेका छैनन् । श्रोतका अनुसार कागजपत्र पेश गर्न उनले केही समय माग गरेको बुझिएको छ । अख्तियारमा हाजिर भएर शुक्रवार अपरान्ह विभाग पुगेका महानिर्देशक केसीले यस विषयमा कुनै प्रतिक्रिया दिन चाहेनन् । यता अख्तियारका सहप्रवक्ता श्रीधर सापकोटाले यो घटनामा महानिर्देशकले आफनो संलग्नता नरहेको दावी गरेतापनि कार्यालय प्रमुखको हात हुन सक्ने बताए । उनले भने –‘महानिर्देशकको सहमतिविना कुनै कर्मचारीले यस्तो अनियमितता गर्नै सक्दैनन् । यसमा उनको पनि संलग्नताका बारेमा छानविन भैरहेको छ ।’

तनावमा महानिर्देशक : अख्तियारमा मुछिएर जागिर नै धरापमा परेपछि यसबाट उम्कन महानिर्देशक केसी लागिपरेका छन । विभागबाटै तीन कम्पनीको फाइल हराएपछि उक्त फाइल जुटाउन शुक्रवार अख्तियारमा हाजिर भएर फर्के लगत्तै महानिर्देशक केसीले बैदेशिक रोजगार व्यवसायीहरुलाई गुहारेका छन् । यही विषयमा विभागमा वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बलबहादुर तामाङ, पुर्व अध्यक्ष सोमलाल बाटाजु तथा संघका केही सदस्यलाई बोलाई महानिर्देशक केसीले नयाँ फाइल कसरी बनाउने भन्ने छलफल गरेको बुझिएको छ । विभागबाट छलफलपछि निस्किएका संघका अध्यक्ष तामाङले नयाँ फाइल जुटाउन नलागेको प्रतिक्रिया दिदै विभागमा अनलाइन सिस्टम नहुँदा यस्तो दूरगति भोग्नु परेको बताए ।

स्रोत: अर्थ रोजगार


,