नेपालमा समुद्री घोडा तस्करी बढ्यो
प्रहरीले शुक्रबार बेलुका केशरमहलबाट दुई किलो सिहर्ससहित दुई युवकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त दरबारमार्गले सिन्धुपाल्चोकका मिलन लामा र सोनाम शेर्पालाई पक्राउ गरेको हो । एक चिनियाँ व्यापारीको सिहर्स बौद्धबाट ठमेल पुर्याउने क्रममा उनीहरू पक्राउ परेका हुन् ।
नियमित चेकिङका क्रममा दरबारमार्ग प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । बा.१ज ४५०८ नम्बरको ट्याक्सीमा सवार उनीहरूलाई राति साढे ११ बजे प्रहरीले पक्राउ गरेको हो । ठमेलको छेन्दु होटलमा उक्त सिहर्स पुर्याउन चिनियाँले उनीहरूलाई लगाएका थिए । चिनियाँको खोजी भइरहेको दरबारमार्ग वृत्तका डिएसपी रमेश बस्नेतले बताए ।
‘मुख्य कारोबारीहरू चिनियाँ भन्ने खुलेको छ,’ डिएसपी बस्नेतले भने, ‘हामी मुख्य गिरोहको खोजी गरिरहेका छौँ ।’ पक्राउ परेका दुवैलाई प्रहरीले कारबाहीका लागि जिल्ला वन कार्यालय काठमाडौंमा बुझाएको छ । दुर्लभ वन्यजन्तुको चोरी, निकासी तथा वन्यजन्तुको अंगको ओसारपसारलाई निरुत्साहित गर्न बनेको साइटिक महासन्धिले सिहर्सको ओसारपसार तथा खरिदबिक्रीलाई प्रतिबन्ध लगाएको छ । साइटिक महासन्धिमा नेपालले हस्ताक्षर गरेकाले सिहर्स नेपालमा समेत प्रतिबन्धित छ ।
सिहर्स एक किसिमको समुद्री माछा हो । हरेक वर्ष यसको संख्या घट्दै गएकाले लोपोन्मुख समुद्री प्रजातिमा राखिएको छ । यसअघि पनि नेपालमा पटकपटक सिहर्स प्रहरीले बरामद गर्दै आएको छ । सिहर्स काठमाडौं र सिन्धुपाल्चोकमा पटकपटक बरामद भएका छन् । अनुसन्धानका क्रममा चिनियाँहरूले भारतबाट ल्याई तातोपानी नाका हुँदै चीन तस्करी गर्ने खुल्दै आएको छ । नेपालमा अन्य किसिमका वन्यजन्तु तथा तिनका अंगहरू पनि चीनमा तस्करी हुने गरेको छ । यस्तो धन्दामा चिनियाँ नागरिक सक्रिय रहेको प्रहरीले जनाएको छ ।

