टेलिफोन पहुँच जनसंख्याभन्दा बढी

काठमाडौं, ३१ साउन । नेपालको टेलिफोन पहुँच शतप्रतिशत जनसंख्याभन्दा बढी भएको छ । दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार टेलिफोन नेपालको कुल जनसंख्याको १ सय ३ प्रतिशतमा पुगेको हो ।

दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार नेपालका २ करोड ७३ लाख ९९ हजार जनता टेलिफोनको पहुँचमा पुगेका छन्, जुन नेपालको कुल जनसंख्याको १ सय ३ प्रतिशत हो । एकै व्यक्तिले एकभन्दा बढी टेलिफोन प्रयोग गर्ने हुनाले यस्तो भएको हो । केन्द्रीय तथ्यांक विभागका अनुसार अहिले नेपालको कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार पुगेको छ ।

प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अघिल्लो वैशाखसम्मको हो । जेठ र असारमा भएको पूर्वाधार निर्माण तथा नेटवर्क विस्तारले झन्डै १ सय ५ प्रतिशत जनता फोनको पहुँचमा पुगिसकेको हुनसक्ने प्राधिकरणको उपभोक्ता विभागका उपनिर्देशक दीपेश आचार्यले बताए ।

खासगरी सेवा प्रदायकबीच सेवा विस्तार र बिक्रीमा हुने गरेको तीव्र प्रतिस्पर्धाले फोन तथा इन्टरनेट सेवामा पहुँचसमेत बढेको उनको भनाइ छ । प्राधिकरणका अनुसार समीक्षा अवधिसम्ममा फिक्स्ड टेलिफोनमा ३ दशमलव १८, मोबाइलमा ९७ दशमलव १८ र अन्यमा ३ दशमलव ०५ प्रतिशत जनताको पहुँच पुगेको छ ।

पछिल्लो समय मोबाइल सेवाको पहुँच उल्लेख्य रूपमा बढेको छ । खासगरी वायरलेस (ताररहित) प्रविधिको विश्वव्यापी प्रयोगलाई नेपालले पनि आत्मसात गरेका कारण फिक्स्ड तथा अन्य सेवाभन्दा मोबाइल सेवा लिनेको संख्या बढेको प्राधिकरण अधिकारी बताउँछन् ।

सोही कारण मोबाइलको पहुँच विस्तारसमेत उल्लेख्य बढेको छ । त्यसो त पहुँच मात्रै होइन, मोबाइल प्रयोगसमेत उच्च रहेको उनीहरू बताउँछन् ।

प्राधिकरणका अनुसार अहिले नेपालका १ करोड १४ लाख ८८ हजारजनाले इन्टरनेट प्रयोग गर्ने गरेका छन्, जुन कुल जनसंख्याको ४३ दशमलव ३६ प्रतिशत हो । नेपालमा सबैभन्दा बढी मोबाइलमा इन्टरनेट चलाउने गरेको प्राधिकरणको तथ्यांकले देखाउँछ । अहिले १ करोड १० लाख ३० हजारले जिपिआरएस/भिजिपिआरएसलगायत प्रविधिमा आधारित इन्टरनेट चलाउँछन् ।

सबैभन्दा कम १३ जनाले भिस्याट प्रविधिमा आधारित इन्टरनेट प्रयोग गर्छन् ।  त्यस्तै, चौथो पुस्ताको भनिएको ‘वाइम्याक्स’ प्राविधिको इन्टरनेट चलाउने १२ हजार ६ सय १५ जना पुगेको प्राधिकरणको तथ्यांक छ । हाल नेपालमा ६ वटा टेलिफोन सेवा प्रदायक र ४२ वटा इन्टरनेट सेवा प्रदायक सञ्चालनमा छन् ।

,