बन्दको सामान्य प्रभाव : १ सय ५ जना बन्दकर्ता पक्राउ


काठमाडौं, ३१ साउन । संघीय समाजवादी फोरम, मोहन बैद्य नेतृत्वको नेकपा माओवादी लगायतका दलले आह्वान गरेको नेपाल बन्दका कारण काठमाडौंका सडकमा अघिल्ला दिनहरुमा भन्दा कम गाडी चलेका छन्। सडकमा कहिँ अवरोध नभएपनि बन्द भनिएकाले गाडी कम चलेको प्रहरीले जनाएको छ। 

'आज बिहान केही ठाउँमा सडक अवरोध गर्न खोजेका थिए तर केहीलाई पक्राउ गर्‍यौं केही भाग्न सफल भए' महानगरीय प्रहरी परिसर हनुमानढोकाका प्रवक्ता एसपी विश्वराज पोखरेलले भने ' तैपनि आज कम गाडी चलेका छन्।' 

प्रहरीले सडकमा अवरोध गर्न खोज्ने १ सय ५ जनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका मध्ये ११ जना महिला छन्। बन्दका कारण लामो तथा छोटो दूरीमा चल्ने सार्वजनिक गाडीहरु निकै कम चलेका छन्। फाटफुट रुपमा निजी कार र मोटरसाइकलहरु चलेका छन्।


स‌घीय समाजवादी फोरमले आफ्ना करिब ३० जना कार्यकर्ता आज पक्राउ परेको जनाएको छ। प्रहरीले सडकमा अवरोध गर्दै हिँडेका बन्दकर्तालाई काठमाडौंको भोटाहिटी, घण्टाघर, बागबजार, चाबहिल लगायतका क्षेत्रबाट पक्राउ गरेकाे हो। संघीय समाजवादी फोरमका बरिष्ठ नेता राजेन्द्र श्रेष्ठ पनि पक्राउ परेका छन्।

पक्राउ गरेका पाँच जना तोडफोडमा संलग्न भएकै अवस्थामा थिए। त्यस्तै बल्खुबाट आठ जना प्रदर्शनकारी पक्राउ परेको प्रहरी नायब निरीक्षक अम्बरबहादुर रावलले जानकारी दिए। बन्दकर्ताले राजधानीमा दुईवटा बस तोडफोड गरेका छन् । शनिबार साँझ मसाल जुलुसका क्रममा पक्राउ परेका १३ जना नेता कार्यकर्तालाई पनि रिहाइ नगरिएको पार्टीले जनाएको छ।


त्यस्तै पत्रकार ऋषि धमला चढेको बा ५ च ४७७८ नंको कारमा पनि बन्दकर्ताले आक्रमण गरेका छन्। ‘नेपालवाणी’ एफएम कार्यालयबाट फर्कने क्रममा वीर अस्पताल अगाडि आफ्नो सवारीसाधनमाथि आक्रमण भएको धमलाले राससलाई जानकारी दिए। संविधानको मस्यौदा र ६ प्रदेशको सीमांकनप्रति विरोध जनाउँदै नेकपा–माओवादीसहित मधेस र जनजातिकेन्द्रित पार्टीले संयुक्त रुपमा आयोजना गरेको बन्दले जनजीवन प्रभावित भएको छ।

काठमाडौं बाहिर मकवानपुर र संखुवासभामा पनि बन्द गराउँदै हिँड्ने संघीय समाजवादी पार्टी र अरु केही पार्टीका कार्यकर्ताहरु पक्राउ परेका छन्। तराईका जिल्लाहरुमा थारु कल्याणकारी सभाले एक हप्ताअघिदेखि बन्द जारी राखेकाले ती जिल्लामा बन्दको दोहोरो मार परेको छ। बन्दका कारण जरुरी कामले यात्रा गर्नुपर्ने सर्वसाधारण र दैनिक ज्यालादारी गर्नेहरु बढी समस्यामा परेका छन्। 

,