​पश्चिम क्षेत्रमा भारी वर्षाको सम्भावना, बाढी र पहिरोको खतरा

काठमाडौं, ३२ साउन । नेपालमा आज मनसुन सक्रिय भएका कारण पश्चिम र मध्य क्षेत्रमा भारी वर्षा हुने सम्भावना छ। कतिपय क्षेत्रमा पानी पर्न सुरु भइसकेको छ भने साँझसम्म धेरै ठाउँमा भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान बिभागले जनाएको छ।

आज पश्चिमका सुर्खेत र दाङमा दिउँसैदेखि भारी वर्षा भएको छ भने काठमाडौंमा पनि पानी परिरहेको छ। मध्य र पूर्वी क्षेत्रमा दिनभरी र साँझसम्म भारी वर्षाको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद सुवास रिमालले जानकारी दिए। 'मध्य र पश्चिम क्षेत्रमा आज रातीसम्म भारी वर्षाको सम्भावना देखिएको छ' उनले भने 'पूर्वी क्षेत्रमा कम बदली भएपनि साँझदेखि मौसम सक्रिय हुन्छ।'

बिभागका अनुसार मनसुनी न्युन चापीय रेखा नेपालतिर सरेका कारण देशैभरी मौसम बदली रही वर्षा हुने देखिन्छ। विशेषगरि आज पश्चिमी र मध्य नेपालको केहि भू-भागमा भारी वर्षाको सम्भावना रहेको बिभागले जनाएको छ। न्यन चापीय रेखा नेपालतिर सरेकाले मनसुन सक्रिय भएको हो।

मध्य र पूर्वी क्षेत्रमा आज भारी वर्षा भएपनि भोलिदेखि मौसम खुल्दै जाने मौसमविद रिमालले बताए। 'त्यसपछि मनसुनको असर पूर्वतिर सर्दै जानेछ, भोलि पूर्वतिर भारी वर्षा हुने सम्भवना रहन्छ।'

भारी वर्षा हुने भएकाले पहाडमा पहिरो जाने, नदीका सतहहरु बढ्ने हुनाले नदी किनारका वासिन्दा सचेत हुनुपर्ने मौसमविद रिमालले बताए।