उपेन्द्र यादव र अमरेश सिंहमाथि छानबिन हुने
काठमाडौं, ३२ साउन । गृहमन्त्री बामदेव गौतमले सभासदहरुले अमरेशकुमार सिंह र उपेन्द्र यादवले कैलालीको टीकापुरमा भएको कार्यक्रममा द्वन्द्व चर्काउने र जातीय आवेग उत्पन्न हुने अभिव्यक्ति दिएको भन्दै यसबारे छानबिन गर्न संसदको ध्यानाकर्षण गराएका छन्।
आज ब्यवस्थापिका संसदमा जवाफ दिँदै गृहमन्त्री गौतमले सभासदहरुले नै द्वन्द्व चर्काउने, जातीय आवेग उत्पन्न गराउने अभिब्यक्ति दिनु दुखद भन्दै कारबाही अगाडि बढाउन उनीहरुले गरेको भाषणको अडियो र त्यसको लिखित रुप सभामुख सुवासचन्द्र नेम्वाङलाई बुझाएका छन्।
'माननीय सभासद ज्यूहरुले द्न्द्व चर्काउने र जातीय आवेग उत्पन्न गराउने गैर जिम्मेवार अभिव्यक्ति दिनु दुखद कुरा हो' गौतमले भने 'यसमा सरकारको ध्यानाकर्षण भएको छ।' केही दिनघि थारु समुदायको आन्दोलनमा संबोधन गर्न कैलालीको टीकापुर पुगेका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, नेपाली कांग्रेसका सभासद अमरेशकुमार सिंह र सद्भभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले राष्ट्रिय सार्वभौमिकता विरुद्ध अभिब्यक्ति दिएको भन्दै हिजोको ब्यवस्थापिका संसदमा सभासदहरुले गृहमन्त्रीको जवाफ मागेका थिए।
गृहमन्त्रीले दिएको अडियो र त्यसको लिखित रुप बुझाएपछि सभामुख नेम्वाङले त्यसबारेमा अध्ययन गर्न संसदको राज्य ब्यवस्था समितिलाई निर्देशन दिएका छन्। उपेन्द्र यादव र अमरेश सिंह सभासद छन् भने महतो पूर्व सभासद हुन्।
'सरकारले बल प्रयोग गरेको छैन'
गृहमन्त्री बामदेव गौतमले देशका बिभिन्न ठाउँमा भइरहेका आन्दोलनमा सरकारले बल प्रयोग नगरेको प्रष्टीकरण दिएका छन्। सरकारी, सार्वजनिक र निजी सम्पत्तिको सुरक्षाका लागि मात्र सरकारले बल प्रयोग गरेको उनले बताएका छन्।
शान्तिपूर्ण आन्दोलनमा सरकारले सुरक्षा दिँदै आएको छ तर सरकारी सार्वजनिक र निजी सम्पत्तिमा तोडफोड भएको बेला सामन्य बलल प्रयोग गरिएको हो उनले भने। गृहमन्त्री गौतमले कास्कीमा भएको नेपाली कांग्रेसका नेता रामजी पौडेलको हत्या, काठमाडौंमा राप्रपा नेपालको प्रदर्शनमा बल प्रयोग र नवलपरासीमा थरुहट आन्दोलनमा भएको बल प्रयोगबारे जवाफ दिएका थिए।
त्यस्तै जुम्लामा लगाइएको कर्फ्यू, मुगुमा सरकारी वकिलको कार्यालयमा भएको तोडफोडबारे पनि जानकारी दिएका थिए। उपप्रधानमन्त्री गौतमले सुर्खेतमा आन्दोलनमा ज्यान गुमाउनेका परिवारलाई १० १० लाख रुपैयाँ दिने र घाइतेको उपचार गर्ने पनि बताए।


