स्याउ पाकेपछि डोल्पालीलाई चिन्ता

काठमाडौं, १ भदौ ।  कर्णालीमा यसवर्ष पनि साउन महिनामै स्थानीय जातका स्याउ पाकेर लटरम्म भएका छन् । तर, स्याउ पाकेपछि खुसी हुनुपर्नेमा डोल्पालीहरू भने चिन्तामा डुबेका छन् । 

कर्णालीका जुम्ला र मुगुमा सडक सञ्जाल पुगे पनि डोल्पामा यातायातको पहुँच नहुँदा हरेक वर्ष लाखाँै मूल्यबराबरको स्याउ बोटमै कुहिने गरेकाले डोल्पाली कृषक चिन्तामा परेका हुन् । डोल्पा कर्णालीको राम्रो स्याउ उत्पादन हुने जिल्लाका रूपमा चिनिन्छ ।

डोल्पामा यातायात सुविधाका नाममा अनिश्चित हवाई यातायात मात्र छ । तर, एक त हवाईमार्गबाट ढुवानी निकै मुस्किल छ । ढुवानी भइहाले पनि धेरै नै महँगो पर्ने गरेको छ ।त्यसो हुँदा बजार अभावका कारण स्याउ बिक्री नभई बोटमै कुहिने गरेको डोल्पाको सुआ गाविसका स्याउ कृषक श्रीदल बुढाले बताए । 

डोल्पाको त्रिपुराकोट, सुआ, जुफाल, दुनै, रह, लिकु, पहाडा, सहरतारालगायत गाविसमा व्यावसायिक रूपमा स्याउ खेती गरिन्छ । तर, स्याउ बिक्री नभई खेतीका लागि लगानी गरिएको पैसा पनि नउठ्ने भएकाले स्थानीय किसान मर्कामा परेको उनले बताए ।

डोल्पामा स्याउ उत्पादनका लागि अनुकूल हावापानी भएकाले राम्रो र गुणस्तरीय स्याउ उत्पादन हुन्छ । तर, व्यावसायिक रूपमा स्याउ खेती गर्दा कृषकहरूलाई घाटा हुने गरेको जिल्ला कृषि विकास कार्यालयका नायव सुब्बा सम्पति बुढाले बताए ।

यदि डोल्पासम्म यातायातको पहुँच हुने हो भने डोल्पाली स्याउ, दाँते ओखरलगायतका फलफूल नेपालगञ्ज, सुर्खेतलगायतका बजारमा लगेर बिक्रीवितरण गरी किसानहरूले राम्रो आम्दानी गर्न सक्ने उनले बताए ।

,