​कर्फ्यु सकिने बित्तिकै सप्तरीमा प्रदर्शन सुरु

काठमाडौं, २ भदौ ।  सप्तरीको भारदहमा आज बिहान कर्फ्यु सकिने बित्तिकै फेरि प्रदर्शन सुरु भएको छ। बिहान ५ बजे कर्फ्यु खुलेपछि स्थानीय वासिन्दा र बिभिन्न मधेशवादी दलका कार्यकर्ताहरुले प्रदर्शन सुरु गरेका हुन्। प्रदर्शनकारीले स ४ प ७९३८ नम्बरको र अर्को एक गरी दुईवटा मोटरसाइकल जलाएका छन्। 

हिजो स्थानीय वासिन्दाको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि चर्किएको प्रदर्शन नियन्त्रणमा लिन स्थानीय प्रशासनले बेलुका ४ बजेदेखि कर्फ्यु लगाएको थियो। स्थिति सामन्य भएको भन्दै स्थानीय प्रशासनले बिहान ५ बजे कर्फ्यु हटाएको थियो। तर कर्फ्यु खुल्ने बित्तिकै प्रदर्शन सुरु भएको थियो। प्रदर्शनकारीले हिजो तोडफोड गरेको प्रहरी पोस्टमा पनि आगजनी गरेका छन्।

सप्तरीका एसपी शिशिर कर्माचार्यले अहिलेसम्मको अवस्था नियन्त्रण बाहिर नरहेपनि सचेत हुनुपर्ने अवस्था रहेको बताए। 'अहिलेसम्म खास केही छैन,स्थिति हेरेर हामी कदम चाल्छौं' उनले भने।

साम्प्रदायिकता भड्काउने खालका समाचार आयो : एसपी
सप्तरी प्रहरी प्रमुख एसपी शिशिर कर्माचार्यले सञ्चार माध्यममा यथार्थ नबुझी आएका समाचारहरुका कारण आन्दोलन भड्किने खतरा रहेको बताए। 'मधेशी प्रहरीलाई हिरासतमा लिइएको जस्ता गलत समाचारहरु मिडियामा आएका छन्,' उनले भने ' मिडियाले सत्य तथ्य नबुझी दिएका समाचारका कारण समस्या हुनसक्ने तर्फ सचेत भएको देखिएन।' हुँदै नभएको घटनाबारे दिइएको समाचारका कारण भारदहमा तनाव हट्न नसकेको उनले बताए।

सप्तरीका पत्रकार वैद्यनाथ यादवले केही सञ्चार माध्यममा गलत समाचार आएको बताए। 'एक दुई जना खराब मानिसले लेख्दा नकारात्मक सन्देश जाने खतरा रहेको बताए।

,