खेतीमा युवा मोह
काभ्रे, ५ भदौ । व्यावसायिक कृषिमा आकर्षणसँगै काभ्रेपलाञ्चोक जिल्लामा पछिल्लो समय खेती किसानीमा युवाहरुको संलग्नता बढ्दै गरेको छ। 'कृषि र पशुपालनमा बढ्दो युवा सहभागिताले खेती किसानीमा पाका पुस्तामात्रै सहभागी हुन्छन् भन्ने कृषकको परम्परागत परिभाषालाई समेत फेरेको छ,' जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत थर्कबहादुर जिसीले भने।
जिसीको भनाइलाई उनको कार्यालयले आह्वान गरेको युवा लक्षित कार्यक्रममा सहभागी हुन इच्छुक युवाहरुको दिनहुँको आवेदनले समेत पुष्टि गर्दछ। प्रत्येक दिन २० देखि २५ जना किसानहरु सम्पर्कमा आउने गरेकोमा तीमध्ये आधाभन्दा बढी युवाहरु नै हुने गरेका जिसीको भनाई छ।
युवा लक्षित कार्यक्रमअन्तर्गत अघिल्ला वर्षदेखि कार्यालयले तरकारी, च्याउ खेती र माछापालनमा संलग्न युवाहरुलाई अनुदान दिँदै आएको छ। कार्यालयले तरकारी र च्याउका लागि प्रति युवा ४० हजार र माछापालनका लागि प्रति युवा ५० हजार रुपैंया अनुदान दिन थालेको हो।
'पछिल्लो समय व्यावसायिक कृषिको लहरसँगै यसमा संलग्न हुने युवाहरु नै बढी छन्। ५० वर्ष नाघेकाहरु भने कमै छन्', जिसीले थपे। युवा लक्षित कार्यक्रमअन्तर्गत तरकारी खेतीमा गत वर्ष ६० जना युवालाई जनही ४० हजार, च्याउ खेतीका २० युवालाई पनि त्यतिकै र ४ जना माछापालक युवालाई ५० हजारका दरले अनुदान दिएको छ।
कृषिमात्रै नभई व्यवासायिक पशुपालनमा समेत युवा सहभागिता बढ्दो छ। गाईभैंसी, बाख्रापालन, बंगूर र कुखुरापालनजस्ता कर्म युवाहरुको प्राथमिकतामा पर्दै आएका छन्।
जिल्ला पशु सेवा कार्यालयले अघिल्लो वर्ष युवालक्षित विशेष पशुपालनअन्तर्गत व्यवासायिक गाईभैंसी पालनमा अनुदानका लागि आवेदन आह्वान गर्दा १ सयभन्दा बढी युवाहरु प्रतिस्पर्धी भए। यस्तै, व्यावसायिक बंगूर प्रवर्द्धनमा ३७ युवा र युवालक्षित बाख्रापालनमा ७४ युवाहरु प्रतिस्पर्धामा उत्रेका थिए।
'सबै युवाहरुका प्रस्ताव उपयुक्त थिए। तर बजेटको कमीले गर्दा सबैलाई कार्यक्रममा सहभागी बनाउन सकिएन। यस वर्ष समेट्ने प्रयासमा छौं', पशु चिकित्सक मणिप्रसाद सापकोटाले भने। युवालक्षित विशेष पशु उत्पादन कार्यक्रमहरुको लक्ष्य अनुसार शतप्रतिशत प्रगति हासिल भएको उनको भनाई छ।
पछिल्लो समय वैदेशिक रोजगारीबाट फर्केका युवाहरुले कृषिमा बुढापाकाहरुमात्रै होइन, युवाहरु पनि सफल हुन सक्छन् भन्ने उदाहरण प्रस्तुत गर्न थालेका छन्। चार वर्ष ईराकमा काम गरेर गाउँ फर्किएकी ३७ वर्षिया सरिता तिमिल्सना बनेपा–११, बुडोलमा कृषि फार्म नै चलाउँदै आएकी छिन्। १६ रोपनी भाडाको जग्गामा स्थापित भक्तेश्वर कृषि फार्म गाईभैंसी, बाख्रा र कुखुरापालनका साथै तरकारी खेतीसमेत गर्दै आएकी छिन्। २५ वटा प्लाष्टिक हाउसमा गोलभेंडा लगाएकी छिन्।
'कमाई त राम्रो थियो। तर, इराकजस्तो जोखिम भएको देशमा हत्केलामा ज्यान राखेर काम गर्नुभन्दा आफ्नै देशमा फर्केर खेती किसानी गर्नु नै ठीक भनेर फर्केको हुँ। बालकैदेखिको खेती किसानी पेशाले अहिले मलाई राम्रो भइरहेको छ', तिमल्सिनाले भनिन्।
उनीजस्तै इराकमा लामो समय काम गरेर फर्केका दीपेन्द्र पराजुलीले पनौती नपा–१० मा चन्द्रदीप कृषि तथा पशुपालन फार्म सञ्चालन गरेका छन्। भैंसीलाई बढी प्राथमिकता दिएका उनले पशु सेवा कार्यालयबाट अनुदान समेत पाएका छन्।
तीन वर्षअघिसम्म बिजुलीको वायरिङको काम गर्दै आएका पनौती नपा–१२ का युवा तीर्थलाल श्रेष्ठ यतिखेर जिल्लामै बंगुरका उन्नत जातका पाठापाठी हुर्काएर बेच्नेमा कहलिएका छन्। उनको श्रेष्ठ बंगुरपालन फार्ममा हुर्किएका पाठापाठीहरु छिमेकी सिन्धुली र रामेछाप जिल्लासम्म पुग्न थालेका छन्। ४० वटा माउ बंगुर पालिरहेका छन्। युवालक्षित कार्यक्रमबाट पाएको सहयोग र पशु सेवा कार्यालयको नियमित प्राविधिक सहयोगले सफल किसान बन्न सकेकोमा उनी मख्ख देखिन्छन्।
महादेवस्थान–२ का युवा राममणि पौडेलले ढाइटारमा माछापालन गरेका छन्। १७ रोपनी जग्गा भाडामा लिएर ५ वटा पोखरी बनाएका हुन्। पोखरीमा ग्रासकर्प र कमनकर्प जातका १० हजार माछा पालेका छन्। एक लट माछा बेचिसकेका छन्। अब ब्रिगेड जातका ५ हजार माछाका भूरा थप्ने योजना बनाएका छन्। उनलाई कृषि विकास कार्यालयले युवा लक्षित कार्यक्रमअन्तर्गत गत वर्ष ५० हजार र पोखरी निर्माणलाई एक लाख अनुदान दिएको छ।
घरधन्धामा व्यस्त रहने युवा गृहिणीहरुसमेत कृषि कर्ममा निस्कन थालेका छन्। बनेपाकी गृहिणी लक्ष्मी प्रजापति तीन वर्षदेखि च्याउखेतीमा संलग्न हुन थालेकी छन्। पाँच रोपनी जग्गा भाडामा लिएर १४ वटा टहरामा च्याउ उत्पादन गर्दै आएकी छन्। विदेशबाट फर्केर आएका युवाहरु कृषिमा सफल भएको देखेर आकर्षित भएको उनी बताउँछिन्।
'दैनिक उत्पादन भएको च्याउ बनेपामै सजिलै बिक्छ। महिलाहरुलाई अन्य कृषि व्यवसायभन्दा यही ठीक हुने मेरो अनुभव छ,' उनले भनिन्। च्याउ उत्पादनका लागि आवश्यक पर्ने परालको भूसा तराईबाट ल्याउने गरेकी छन् भने च्याउको बीउ रोप्ने बल बनाउनका लागि इलामबाटै युवाहरुको समूहलाई बोलाउने गरेकी छन्।
पछिल्लो समय कुखुरापालनमा समेत युवाहरुको आकर्षण बढेको छ। शहर बजारमा व्यावसायिक फार्म नै सञ्चालन गरेका छन्। गाउँमा समेत युवाहरुलाई छिटो छरितो आम्दानी हुने पेशाका रुपमा यही पेसालाई अंगालेका छन्।
'चल्ला, दाना र औषधी सहज उपलब्ध हुनुका साथै दुई महिनामै बजारमा लगेर बेच्न सकिने भएबाट ब्रोइलर कुखुरापालनमा आकर्षण बढेको हो। जिल्लाका अधिकांश युवाहरु यही पेशाले रोजगार बनिरहेका छन्,' पोल्ट्री व्यवसायी मञ्च नेपालका सचिव दयाराम महतले भने।
कृषिमा युवाहरुको संलग्नता बढ्दै जाने क्रममा उत्पादन धेरै हुने र उचित मूल्य नपाइने अवस्था आउँदा भने उनीहरुमा वितृष्णा हुन सक्ने बाली विकास अधिकृत थर्कबहादुर जिसीको भनाइ छ।


