एयरपोर्टको भ्रष्टाचारले बेइज्जत

२ भाद्र,काठमाडौं,

नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माणमा भएको भ्रष्टाचारले मुलुकको अन्तर्राष्ट्रिय बेइज्जत समेत भएको छ । विमानस्थलको रन वे मापदण्ड विपरीत टेन्डर र निर्माण भएको पाइएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले टेन्डर आह्वान गरेपछि चिनियाँ कम्पनी सीआरईसीसँग मिलेर टुन्डी कन्ट्रक्सन नामक नेपाली कम्पनीले निर्माण गरेको थियो । धावन मार्गको कालोपत्रे ४० देखि ४५ डिग्री सेल्सियसको तापक्रम धान्ने हुनुपर्नेमा ३० देखि ३५ डिग्री सेल्सियस तापक्रम मात्र धान्न सक्ने गरी बनाइएकाले अहिले समस्या आएको उच्च स्रोतले बतायो ।

विदेशतिर यस्ता ठूला विमानस्थल ५० देखि ५५ डिग्री सेल्सियस तापक्रम धान्न सक्ने गरी बनाइएका हुन्छन् । तर अनियमित रुपमा त्रिभुवन विमानस्थलको धावनमार्ग निर्माण भएपछि अहिले दिनदिनै समस्या आउने, अन्तर्राष्ट्रिय उडानका विदेशी विमान आकाशमा घन्टौंसम्म होल्ड हुनुपर्ने जस्ता समस्या आएका हुन् । यसले नेपालको अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय रुपमा बेइज्जत भएको सरोकारवालाले बताएका छन् ।