७० पूर्वलडाकुलाई नेपाली सेनामा दर्जा

१० भाद्र,

माओवादीका पूर्वलडाकू सोमबारदेखि औपचारिक रुपमा नेपाली सेनामा जिम्मेवारी सम्हाल्ने भएका छन् । सेना समायोजनका लागि छनोट भएका माओवादीका पूर्वलडाकू मध्ये अधिकृत स्तरका ७० जनाको आधार भूत तालिम सकिए पछि सोमबार मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको उपस्थितिमा उनीहरुलाई दर्जा प्रदान गरिने छ । त्यसपछि उनीहरु पूर्ण रुपमा नेपाली सेनाका रुपमा कार्यरत रहनेछन् ।


विशेष समारोहका बीच उनीहरुलाई दीक्षान्त गरिने छ। नेपाली सेनाले भक्तपुर स्थित सैनिक प्रतिष्ठान खरिपाटीमा विशेष दीक्षान्त समारोह आयोजना गरेको छ । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार समारोहमा सहभागी हुन नेपाली सेनाले प्रमुख राजनीतिक दलका शीर्ष नेतालाई समेत आमन्त्रण गरेको छ ।

त्यस्तै तत्कालीन माओवादी सेनाका लडाकुको रेखदेख, समायोजन र पुनःस्थापनासम्बन्धी विषेश समितिमा रहनुभएका राजनीतिक दलका प्रतिनिधि र सचिवालयका संयोजकसमेत समारोहमा सहभागी हुनेछन् । उनीहरुलाई उपसेनानी पदको दज्र्यानी चिन्ह प्रदान गरिने र तीन महिनाको ब्रिजिङ कोर्स गराएपछि उपल्लो दर्जा दिइने छ । सेना समायोजन विशेष समितिले पूर्वलडाकु मध्येबाट एक कर्णेल (महासेनानी) दुई लेफ्टिनेन्ट कर्णेल, १३ मेजर, ३० जनालाई क्याप्टेन र २४ जनालाई उपसेनानी बनाउने निर्णय गरेको थियो ।

पूर्वलडाकु यमबहादुर अधिकारीलाई महासेनानी र बासुदेव घिमिरे तथा पदम लामालाई प्रमुख सेनानी बनाउने निर्णय भएको थियो ।

स्रोत: अन्य पत्रिका