७० पूर्वलडाकूलाई आयुक्त पद

११ भाद्र, काठमाडौं,

सैनिक प्रतिष्ठान खरिपाटीमा संचालित अधिकृत समायोजन आधार तालिममा सहभागी माओवादीका ७० जना पूर्व लडाकूलाई  सोमबार एक विशेष समारोहका बीच मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले अधिकृत स्तरको आयुक्त पद प्रदान गरे । उक्त अवसरमा अध्यक्ष रेग्मीलाई कवाजले सम्मान  अपर्ण गर्नुका साथै मार्च पास प्रदर्शन गरेको थियो ।
मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीले उक्त अवसरमा आयुक्त पद प्राप्त गर्ने अधिकृत क्याडेटहरुलाई सम्बोधन गर्दै नेपालको सार्वभौमसत्ता, अखण्डता र एकतालाई अक्षुण्ण बनाउदै नेपाली भूमिको रक्षार्थ क्रियाशिल नेपाली सेनाको संगठनमा आफुलाई सुम्पिएको जिम्मेवारीमा उच्च मनोबलका साथ सक्रिय रहन हौसला, प्रोत्साहन र प्रेरणा प्राप्त भईरहोस् भन्ने शुभकामना व्यक्त गरे । द्वन्दको शान्तिपूर्ण रुपान्तरण गरी शान्ति प्रक्रिया संग जोडिएको सेना समायोजनको महत्वपुर्ण कार्य सफलता पूर्वक सम्पन्न हुनु हामी सबैका लागि सन्तोषको बिषय भएको अध्यक्ष रेग्मीको भनाई थियो ।

अध्यक्ष रेग्मीले विभिन्न समयमा समायोजनका बिषयमा भएका निर्णयहरुको कार्यान्वयनमा महत्वपूर्ण योगदान गर्दै “हामी सबै नेपाली र नेपाली सेना सबै नेपालीको” भन्ने भावनात्मक सम्बन्ध र यथार्थलाई मूर्तरुप दिदै द्वन्दको शान्तिपूर्ण रुपान्तरण गरी नेपाली जनताको शान्ति प्रतिको चाहनालाई साकार तुल्याउन यस समारोहले  बिशेष महत्व राख्दछ भन्ने बिचार व्यक्त गरे । उक्त दिक्षान्त समारोहमा ४ महिला अधिकृत क्याडेट सहित जम्मा ७० जनाले आयुक्त पद प्राप्त गर्दै उप सेनानी दर्जाको दज्यार्नी चिन्ह प्राप्त गरेका छन् । नौं महिना अवधिको समायोजन अधिकृत आधार तालिममा सर्वोत्कृष्ट स्थान हासिल गरी प्रथम हुने अ.क्या. केशव धामीलाई प्रमुख अतिथीले स्वर्ड अफ अनर र महिला तर्फ उत्कृष्ट स्थान हासिल गर्ने अ.क्या. मिना कुमारी बस्नेतलाई बेस्ट महिला अफिसर क्याडेट्स क्यान प्रदान गरियो । उक्त अवसरमा प्रधान सेनापति गौरव शम्शेर ज.व.रा.ले नवआयुक्त अधिकृत तथा तिनका परिवारजनहरुलाई बधाई तथा शुभकामना ज्ञापन गरेका थिए ।

उक्त कार्यक्रममा मन्त्रीहरु, पूर्व प्रधानमन्त्रीहरु, मुख्य सचिव, नेपाल सकारका सचिवहरु, विभिन्न मित्रराष्ट्रका राजदुतहरु, अन्य सुरक्षा निकायका प्रमुखहरु, नेपाल स्थित संयक्त राष्ट्रसंघका पदाधिकारीहरु, विभिन्न राजनैतिक दलका नेताहरु, समायोजन बिशेष समितिका पूर्व सदस्यहरु, पुर्व प्रधानसेनापति तथा सैनिक प्रतिष्ठान खरिपाटीका पूर्व शिक्षाधिकृतहरु, नेपाली सेनाका रथीबृन्द तथा अधिकृत, विभिन्न विदेशी नियोगका सैनिक सहचारीहरु, सार्वजनिक क्षेत्रका लव्ध प्रतिष्ठित व्यक्तित्व तथा सुरक्षा बिज्ञहरु एवं आयुक्त पद प्राप्त गर्ने अधिकृत क्याडेटहरुको परिवारजनका साथै उल्लेख्य संख्यामा संचारकर्मीहरुको समेत उपस्थिती रहेको थियो ।