‘सवा करोड मतदाताले निर्वाचन चाहेका छन्’: उप्रेती

१२ भाद्र

 प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले सवा करोड मतदाता र १ सय ३४ पार्टीले निर्वाचन खोजेकाले मंसिर ४ गते तोकिएको संविधानसभाको दोस्रो निर्वाचन सम्पन्न भएरै छाड्ने बताएका छन् । बुधबार भरतपुर विमानस्थलमा भएको पत्रकार भेटघाट कार्यक्रममा उप्रेतीले सो कुरा बताएका हुन् ।

वैद्य नेतृत्वको नेकपा–माओवादी सहितका ३३ दल निर्वाचनमा भाग नलिने पक्का पक्की जस्तै भएका बेलामा प्रमुख निर्वाचन आयुक्त उप्रेतीको भनाइ थियो, ‘मलाई लाग्छ उहाँहरु सबै चुनावमा आउनु हुन्छ, नआए पनि विरोध गर्न पाउनु हुन्छ तर चुनावै रोकेर अरुको लोकतान्त्रिक अधिकार उपभोग गर्न पाउने दिशामा उहाँहरु पक्कै जानुहुन्न ।’

चुनाव चाहेकाहरुले नै मतदाता नामावलीमा नाम लेखाएको र चुनाव चाहेर नै निर्वाचन आयोगमा १ सय ३४ दलले दल दर्ता गराएका हुन् भन्दै उप्रेतीले थपे, ‘लोकतन्त्र मान्ने र जनतालाई सर्वशक्तिमान मान्ने हो भने चुनाव चाहने सवा करोड मतदाताको चाहनाको कदर गर्दै सबैले चुनावमा भाग लिनु राम्रो हो ।’

प्रमुख निर्वाचन आयुक्त उप्रेती १ करोड २५ लाखको मताधिकारलाई सुनिश्चित गर्न तोकिएकै मितिमा चुनाव गर्ने बताएका छन् । असहमतिका विषयलाई सुल्झाएर जाने दायित्व दलहरुको भएकोले चुनावको मिति परिवर्तनमा निर्वाचन आयोगले कुनै सम्झौता गर्न नसक्ने उनले स्पष्ट पारे ।