तस्बिरसहितको नामावली दर्ता पुनः सुरु
काठमाडौँ, भदौ ४: निर्वाचन आयोगले तस्बिरसहितको मतदाता नामावली दर्तासम्बन्धी विशेष कार्यक्रम भदौ १ बाट पुनः सुरु गरेको छ । असार मसान्त सम्ममा १८ वर्ष पुगी मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्न छुटाएकालाई लक्ष्यित गरी ७५ वटै जिल्ला निर्वाचन कार्र्यालयमा दर्ता कार्यक्रम सुरु गरिएको आयोगका प्रवक्ता वीरबहादुर राईले जानकारी दिनुभयो । नामावली दर्ता कार्यक्रम यही भदौ ७ गतेसम्म जारी रहेने छ ।
साउन ३१ गते बसेको आयोगका पदाधिकारीको बैठकले पुनः मतदाता नामावली सङ्कलन कार्य सुरु गर्ने निर्णय गरेको थियो । मतदाता नामावलीमा आफ्नो नाम नभएकाहरूले अर्को संविधानसभाको निर्वाचनमा मतदान गर्न तथा उम्मेरदारसमेत हुन पाउने छैनन् । यसअघि तस्बिरसहितको मतदाता नामावलीमा आफ्नो नाम सूचीकृत गरेकाले भने पुनः दर्ता गर्नुपर्ने छैन । आगामी मङ्सिर ४ गते हुने संविधानसभाको निर्वाचनका लागि आयोगले २०७० असार मसान्तसम्म समयसीमा तोकी तस्बिरसहितको मतदाता नामावली सङ्कलन कार्य गरेको थियो । सो अवधिमा करिब एक करोड २३ लाख नागरिकको तस्बिरसहितको मतदाता नामावली सङ्कलन भएको थियो । सूचीकृत नामावलीमाथि आयोगले अहिले छानबिन गरिरहेको छ । भदौ २२ मा अन्तिम नामावली प्रकाशन गर्ने आयोगको तयारी छ ।
पछिल्लो जनगणनामा नेपालको कुल जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार ५०६ पुगेको छ र यसमा १८ वर्षमाथिको जनसङ्ख्या एक करोड ६४ लाख सात हजार २१३ छ । सङ्कलित प्रारम्भिक चरणको मतदाता नामावली र मतदान गर्न योग्य मतादाताबीच तुलना गर्दा अझै पनि करिब ४१ लाख ७८ हजार ८९९ मतदान गर्न योग्य मतदाताले आफ्नो नाम दर्ता गराएका छैनन् । विविध कारण आफ्नो नाम मतदाता नामावलीमा दर्ता गराउन छुटाएका वा नभ्याएका १८ वर्ष उमेर पुगेकाको मताधिकार सुरक्षित गर्न आयोगले छोटो समयमा लागि दर्ता खुला गरेको हो । असार मसान्तसम्म अन्तिम नामावली दर्ताको समयसीमा तोकेको आयोगले राजनीतिक दल, उच्चस्तरीय राजनीतिक संयन्त्र, मतदाता तथा सरोकारवालाको आग्रहमा यो समयावधि थप गरेको हो ।
नाम दर्ता गर्नेको उत्साहजनक सहभागिता:
निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली दर्ता एकहप्ते कार्यक्रम अघि सारेपछि कास्कीमा नामावली दर्ता गर्नेको उत्साहजनक सहभागिता बढेको छ । बिदाका दिनमा पनि २९७ जनाले फोटो खिचेर मतदाता नामावलीमा नाम दर्ता गरेका र आईतबार ६०० भन्दा बढीले नाम दर्ता गर्ने जिल्ला निर्वाचन कार्यालय कास्कीका प्रमुख घनश्याम भण्डारीले बताउनुभयो । नाम दर्ता गर्न आउनेको भीडलाई ध्यानमा राखी कार्यालयले आईतबार बिहान ८ बजेदेखि नै ६ वटा कम्प्युटरको व्यवस्था गरी काम गरिरहेको र साँझ ६ बजेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्ने बताइएको छ ।
हिमालपारिको जिल्ला मुस्ताङमा शनिबार बिदाको दिन कुनै नआएकोमा आईतबार ४ बजेसम्म २३ जनाले नामावली दर्ता गरेको जिल्ला निर्वाचन कार्यालयका शाखा अधिकृत ज्ञानबहादुर बानियाले जानकारी दिनुभयो । यस्तै, अर्को हिमाली जिल्ला मनाङमा पनि पाँचजना मतदाताले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएको कार्यालयका प्रमुख गोविन्दप्रसाद पाण्डेले बताउनुभयो ।
स्रोत: रासस


