विगतका गल्तीहरु नदोहोरिने-अध्यक्ष प्रचण्ड
जनकपुरधाम, भाद्र ४: एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतको संविधान सभालाई षड्यन्त्रपूर्ण अन्तरघात गरेर नेपाली कांग्रेस र एमालेले व्यूताएको आरोप लगाउंदै संविधान सभाको दोश्रो चुनावबाट संविधान सभा बन्ने ग्यारेन्टी लिन्छु र विगतका गल्तीहरु नदोहोरिने बताउनु भएको छ ।
एनेकपा माओवादी जिल्ला संगठन समिति धनुषाद्वारा लगमा गाउँ विकास समितिमा आयोजना गरिएको धनुषा निर्वाचन क्षेत्र नं. १ को सम्मेलनलाई सम्बोधन गर्नुहुंदै अध्यक्ष प्रचण्डले घोषित मिति मंसिर ४ गतेमै चुनाव हुन्छ कुनै कसैले भन्दैमा नसर्ने र नबिथोलिने दावि गर्नु भएको छ । अध्यक्ष प्रचण्डले संविधान सभाको चुनावपछिको ६ महिनामा संविधानको मस्यौदा र एक वर्षभित्रमा संविधान घोषणा गर्ने सहमति पनि उच्चस्तरीय राजनीतिक संयन्त्रले गरिसकेको हुँदा कुनै चलखेल र दायांबायां नहुने ठोकुवा गर्नु भएको छ ।
संविधान सभा अन्तर्राष्ट्रिय स्तरमै सर्वोत्कृष्ट र वैज्ञानिक प्रणाली सावित भइसकेको हुँदा लोकतान्त्रिक गणतंत्रलाई संस्थागत गरी सुशासन, कानूनी राज्य, शान्ति अमन चयन कायम हुने हुँदा सबै दलहरु देश र जनताप्रति पूर्ण ईमान्दार र बफादार भएर संविधान सभाको चुनावलाई सुसम्पन्न गराउन आग्रह गर्नु भएको छ । त्यस अवसरमा एनेकपा माओवादीको जनयुद्धका मसिहा लडाकू केन्द्रिय सदस्य योग कुमार यादव (जीवन)ले आम नेपाली जनता सचेत र सकृय भई नेताहरुको कदमलाई पहिचान गर्नु आजको आवश्यकता रहेकोमा जोड दिनु भएको छ ।
अर्का केन्द्रिय सदस्य रामचन्द्र झाले एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको योग्यता, क्षमता, व्यक्तित्व प्रति आफू नतमस्तक र आकर्षित रहेको धारणा राख्नु भयो । एनेकपा माओवादी धनुषाका संयोजक रामचन्द्र मण्डलको अध्यक्षतामा भएको सो समारोहबीच बरिष्ठ केन्द्रिय सदस्य विश्वनाथ साह, प्रा.डा. भोगेन्द्र झा व्यथित, जालिम मिया अंसारी, राम सिंह यादव, रमेश रंजन झा, त्रिलोक नारायण महतो, सीता पोख्रेल, कुलदेव मोडवैता (कारी), गोपाल मुखिया, भरत यादव, बुद्धराम यादव लगायतका वक्ताहरु चुनावको पक्षमा लाग्न सबैलाई आग्रह गर्नु भयो । त्यसबखत नेकपा एमाले परित्याग गरी सयौं कार्यकर्ता एनेकपा माओवादीमा प्रवेश गरेका थिए । उनीहरुलाई प्रमुख अतिथि अध्यक्ष प्रचण्डले टीका माला लगाई पार्टी प्रवेश गराउनु भयो ।
स्रोत: राजधानी


