पाँचथरमा बलात्कारका घटना बढ्दै


६ भदौ: पाँचथरमा पछिल्लो समय महिला हिंसाका घटनामा वृद्धि भएको छ । गत १० दिनको अवधिमा मात्रै भएका बलात्कारका घटनामा बालिकादेखि वृद्धासम्म पीडित भएका छन् । अधिकांश बलात्कारका घटनामा आफन्तकै संलग्नता देखिएको छ । यसबीचमा भएका ६ मध्ये ३ वटा घटनामा संलग्न अभियुक्त मात्रै पक्राउ परेका छन् भने एउटा मुद्दालाई प्रहरीकै संलग्नतामा मिलापत्र गराइएको छ । 

साउन ३० गते उतरी पाँचथरको मेमेङ ४ मा विरामी अवस्थामा रहेकी ७५ वर्षीय बृद्वालाई बलात्कार गर्ने दीर्घसिंह केरुङलाई कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय लागिए पनि मिलापत्र गराएर छोडिएको छ । मेमेङ ३ मै साउन २७ मा ११ वर्षीया भतिजीलाई बलात्कार प्रयास गर्ने ३७ वर्षीय भवानी राई फरार छन् । त्यस्तै, २ भदौमा मेमेङ–४ मै ६ वर्षीया एक बालिका बलात्कृत भइन् । 

स्थानीय सुनिल भनिने टेकबहादुर केरुङले ६ वर्षीया बालिकालाई घरमै बलात्कार गरेका हुन । दिदीलाई जबरजस्ती गर्दा भागेपछि उनले बहिनिलाई करणी गरेको बताइएको छ । यासोकमा दुई बालिकालाई जबरजस्ती गरेको अभियोगमा स्थानीय ६० वर्षीय प्रेम तामाङ पनि पक्राउ परेका छन् ।