गोर्खाल्याण्ड मुद्दाले भारतीय लोकसभा रोकियो

३१ साउन,

 ‘गोर्खाल्याण्ड’ को मुद्दा चर्किएपछि भारतीय संसद् लोकसभा बुधबार स्थगन भएको छ । ‘गोर्खाल्याण्ड’ को मुद्दाबारे प्रमुख विपक्षी भारतीय जनता पार्टी र पश्चिम बङ्गालको सत्तारुढ दल तृणमूल कांग्रेसबीच भएको चर्को विवादले लोकसभा स्थगन भएको हो ।

‘शून्य समय’ मा भारतीय जनता पार्टीका सदस्य जसवन्त सिंहले गोर्खाल्याण्डको मुद्दा उठाएपछि तृणमूल कांग्रेसका सांसद् आक्रोशित हुँदै चिच्याएका थिए । समाचार एजेन्सी आईएनएसका अनुसार तृणमूल कांग्रेसका सांसद्ले चिच्याएर सिंहलाई रोक्न खोजेपछि संसद् २ बजेसम्मका लागि स्थगन भएको थियो । पछि संसद् स्थगनको समय ३ बजे सम्मका लागि बढाइयो । भाजपा नेता सिंह स्वतन्त्र उम्मेदवारका रुपमा दार्जीलिङबाट लोकसभामा विजयी भएका थिए । उनले आफू निर्वाचित भए ‘गोर्खाल्याण्ड’ मुद्दा उठाउने प्रतिबद्धता जनाएका थिए । तेलगु देशम् पार्टीका सांसद्ले सभामुखको पोडियमनजिकै गएर तेलङ्गना राज्यविरुद्ध समेत नाराबाजी गरेका थिए ।

छुट्टै ‘गोर्खाल्याण्ड’ राज्यको माग गर्दै आन्दोलनमा ओर्लिएका आन्दोलनकारीहरुले दार्जीलिङमा बुधबारदेखि ‘जनकफ्र्यु’ लगाएका छन् । पश्चिम बङ्गालका मुख्यमन्त्री ममता बेनर्जीले गत शनिबार ७२ घण्टाभित्र आन्दोलन फिर्ता लिन दिएको अल्टिमेटमको विरोधमा समर्थकहरुले सडकमा ननिस्किएर घरभित्रै बसी ‘जनकफ्र्यु’ लगाएका हुन् । जनताले लगाएको कफ्र्युका कारण बजार पूर्णत: सुनसान देखिएको थियो । प्रहरी र पत्रकारबाहेक सडकमा कोही पनि मानिस निस्केनन् र आ–आफ्ना घरमा बसे । भारतले अलग तेलङ्गना राज्य दिने घोषणा गरेपछि दुई सातायता दार्जीलिङमा बन्द र हडताल जारी छ । अनिश्चितकालीन बन्दलाई न्यायालयले रोक लगाएपछि आन्दोलनकारीले मङ्गलबारदेखि आन्दोलनको स्वरुप परिवर्तन गरेको बताउँदै ‘जनताको कफ्र्यु’र् घोषणा गरेका हुन् ।

जनताको अप्ठ्यारोलाई ध्यानमा राखी बिहीबारदेखि आइतबारसम्म बजार खुल्ला गर्ने आन्दोलनकारीले बताएका छन् । आन्दोलनकारीलाई गिरफ्तार गर्ने अभियान राज्य सरकारले जारी राखेको छ । हालसम्म अढाइ सयभन्दा बढी आन्दोलनकारी नेताहरु पक्राउ परिसकेका छन् ।

भारतीय पूर्वोत्तर राज्य पश्चिम बङ्गालको सत्तारुढ पार्टी तृणमूल कांग्रेसका नेताले दार्जीलिङका गोर्खालीलाई ‘नेपालीहरु नेपाल जाओ’ भन्ने अभिव्यक्ति दिएपछि गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङले आपत्ति जनाएका छन् । तृणमूल कांग्रेसका नेताहरुको यस्तो भनाइले दार्जीलिङवासीलाई हेर्ने बङ्गाल सरकारको दृष्टिकोण स्पष्ट भएको गुरुङले जनाए ।

उनीहरुको यही मानसिकताका कारण अलग ‘गोर्खाल्याण्ड’ राज्य आवश्यक रहेको गुरुङले दाबी गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । तृणमूल कांग्रेसका नेताले मङ्गलबार ‘नेपालीहरु, नेपाल जाओ’ भन्ने अभिव्यक्ति दिएको बुधबार प्रकाशित भारतीय पत्रिका ‘हिमालयन दर्पण’ ले लेखेको छ ।

दार्जीलिङको छिमेकी राज्य सिक्किमका प्रभावशाली मुख्यमन्त्री पवन चाम्लिङले पनि गोर्खाल्याण्ड राज्यको स्थापनामा सिक्किमको पूर्ण समर्थन रहेको जनाएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको गोर्खा जनमुक्ति मोर्चासम्बद्ध युवा संगठनका करिब तीन सय युवासँगको भेटमा मुख्यमन्त्री चाम्लिङले गोर्खाल्याण्ड स्थापनाप्रति सिक्किमको ऐक्यबद्धता जनाए ।

उनले सिक्किम विधानसभाले गोर्खाल्याण्ड राज्यको पक्षमा प्रस्ताव पारित गरेको पनि स्मरण गराए ।